चरिकोट । मंगलबार दिउँसो घाँस काट्ने क्रममा तिरपु भीरबाट लडेर घाइते भएका गौरीशंकर –१ जुँगुका ३९ वर्षीय मोहनबहादुर कार्कीको उपचारका क्रममा मृत्यु भएको घटना शंकास्पद देखिएको छ ।
घटनाको विषयमा शंका लागेपछि आज(बुधबार) प्रहरीले घटनाको थप अनुसन्धान गर्न जुँगु पुगेका थिए ।
प्रहरी टोलीले सो घटनामा भरुवा बन्दुक समेत भेटिएपछि ८ जना स्थानीयलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ ।
पक्राउ गरिएको ८ जना नै गौरीशंकर गाउँपालिका १ जुँगुका स्थानीय रहेको दोलखाका प्रहरी निरिक्षक दाताराम अधिकारीले गौरीशकर न्यूजलाई जानकारी दिए ।
उनका अनुसार घटना स्थलमा भेटिएको भरुवा बन्दुक र पक्राउ गरीएका ८ जनालाई नै जिल्ला प्रहरी कार्यालय चरिकोट ल्याइएको छ ।
प्रहरीले घटना स्थलमा बन्दुक भेटिएपछि यो घटनाले नयाँ मोड लिएको छ । कार्की लडेको भीर र सोही क्षेत्रमा बन्दुक भेटिएपछि यो घटना थप अनुसन्धानमुलक विषय भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
गौरीशंकर गाउँपालिका १ का वडा अध्यक्ष प्रकाश खड्कासँग सम्पर्क गर्दा यस विषयमा भने बोल्न चाहेनन् ।