मेलुङ गाउँपालिका–७ का किसानहरूले बाँदर नियन्त्रणका लागि प्रविधिमैत्री उपाय खोज्न थालेका छन् ।
खेतबारीमा लगाइएको धान, मकै, कोदो, गहुँ लगायतका अन्नबाली तथा फलफूल बाँदरले सखाप पार्न थालेपछि किसानहरूले प्रविधि सिकेर समाधान खोज्न थालेका थालेका हुन् ।
बाँदर आतंकबाट हैरान किसानहरूको माग अनुसार वडा कार्यालयले पाँच दिने तालिम सञ्चालन गरेको मेलुङ गाउँपालिका–७ का वडाअध्यक्ष नवराज खड्काले जानकारी दिए ।
उक्त तालिममा बाँदर नियन्त्रणका १० प्रकारका प्रविधिहरू सिकाइनेछ ।
बाँदर नियन्त्रणका लागि वडाले विभिन्न उपायहरू अवलम्बन गर्दै आएको छ । गत वर्ष वडा कार्यालयले किसानहरूलाई पड्किने बन्दुक वितरण गरेको थियो । तर, केही समय मात्रै बाँदर तर्सिए पनि पछि त्यसको प्रभाव समाप्त भएको स्थानीय किसानहरू बताउँछन् । बाँदर धपाउने क्रममा अहिलेसम्म भीरबाट लडेर दुई जनाको मृत्यु भइसकेको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।
गाउँपालिकाले प्रविधि आविष्कारक विजय राणाको नेतृत्वमा बाँदर नियन्त्रणसम्बन्धी तालिम आयोजना गरेको मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङले जानकारी दिए । तालिममा बाँदर धपाउन प्रयोग गर्न सकिने पासो, लेजर लाइट, ड्रोन लगायतका १० प्रविधि सिकाइनेछ ।