गौरीशंकर न्यूज, कार्तिक १४। युवा पुस्तामा आफ्नो गाउँ, क्षेत्र, भुवनोटलाई भविष्य बनाउन सक्ने प्रविधिमैत्री भिजन हुन्छ । सामाजिक, आर्थिक र समृद्धिको परिकल्पना युवा पुस्ताको भिजनमा बुदागत रुपमा कार्ययोजना बनाएका हुन्छन् ।
यस्तो भिजन भएको नेतृत्व सहि समयमा सहि निर्णय गर्ने ठाउँमा पुग्न सक्यो भने परिकल्पनाहरुले नयाँ आकार मात्रै होइन, रुपान्तरण गर्न सकिने कयौ उदाहरणहरु छन् । जस्ले सामाजिक, स्वरोजगारको सम्भाव्यता र आर्थिक पक्षमा छुटै क्रान्ति ल्याउँन सक्छन् ।
सामाजिक संघ संस्था, विभागीय नेतृत्व, राजनीतिक नेतृत्व मात्रै होइन विभिन्न अन्राष्ट्रिय सञ्जालमा यी नेतृत्वदायी व्यक्तित्वले छुटै प्रभाव जमाउँछ । यसैसन्दर्भमा अहिले देशभरी उप निर्वाचनको घोषणा गरेसँगै र चुनावी तयारी भइरहेको छ । आगामी मंसिर १६ गते हुने उप निर्वाचनमध्ये दोलखाको गौरीशंकर गाउँपालिकामा यति बेला चुनावी माहोल बनेको छ । उपाध्यक्ष श्याम सुन्दर तामाङको निधनपछि उक्त पद खाली थियो । यसकारण यति बेला सबै राजनीति दलको आँखा गौरीशंकर गाउँपालिकामा केन्द्रित छ ।
यही क्रममा नेकपा एमाले दोलखाले अर्थशास्त्र अध्ययन गरेकी उमा मगर शेर्पालाई उपाध्यक्षको सशक्त उम्मेदवार घोषणा गरेका छन् । पारीवारिक रुपमा राजनीतिक पृष्ठभूमीबाट आएकी उनी उमेरले तीन दशकको यात्रामा छिन् । उनी राजनीतिक रुपमा संगठित तर पर्दाभित्र बस्दै आएकी उमा उपाध्यक्षको टिकट पाएसँगै जिम्मेवारी थपिएको महशुस गर्छिन । राजीतिक जिम्मेवारीले अन्य उम्मेदवारभन्दा फरक र स्पष्ट मतसहित विजयको शुभ संकेत लिएर आएको उनले बताईन ।

दोलखाको राजनीतिक विषयमा सक्षिप्त जानकारी भएकी उमालाई गौरीशंकरको भुगोल, जनजीवन, विकट र सुगमसँगै विकास गतिको विषयमा राम्रै जानकारी छ ।
राजनीतिक जिम्मेवारी र दायित्व परीवारभन्दा माथि उठेर गर्नु पर्ने उनको अर्को बुझाई छ । यति मात्रै होइन, सामाजिक रुपान्तरण र राजनीतिक नेतृत्वमा युवा पुस्ताले नेतृत्व लिएमात्रै मुलुकले नयाँ गती लिने उमाको दृष्टिकोण छ ।
यही दूरगामी दृष्टिकोण र राजनीतिक जिम्मेवारीले गौरीशंकरको समग्र विकास र समृद्धिमा अर्को आयाम थपिने उनको तर्क छ । यसै सन्दर्भमा गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार उमासँग मंसिर १६ गते हुन गइरहेको निर्वाचन, चुनावी एजेन्डा, तयारी र सम्भावनको विषयमा गरिएको कुराकानीको सम्पादित अशं:
राजनीति क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ?
हरेक व्यक्ति समाज, संघ, संस्था र आफू अनकुल राजनीतिक क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएको हुन्छ ।
मेरो जन्म नै राजनीतिक परीवारमा भएको हो । यसकारण म राजनीतिक चेतना भएको युवा पुस्ता हुँ ।
२०६२/०६३ पछि झन स्वभावैले मानिस कुनै न कुनै राजनीतिक दलमा आस्था, विचार र विश्वास राख्ने गरेको पाइन्छ । यसैले म अछुतो रहने र पछि हुने कुरै भएन । यसकारण जब मैले मतदान गर्ने अधिकार पाए सोही समयदेखि राजनीतिक रुपमा सगंठित तर अप्रत्यक्ष रुपमा सक्रिय थिए ।
गौरीशंकर गाउँपालिकामा उपाध्यक्षको टिकट पाउनु भएको छ । तयारी कस्तो छ ?
गौरीशंकर गाउँपालिकामा हाम्रो पाटीले युवा पुस्तालाई टिकट दिनु भएको छ । हिजोको दिनमा पनि युवालाई नै प्राथमिकता दिनु भएको थियो । अहिले मेरो नाममा टिकट आएको छ । व्यक्तिगत रुपमा खुसी छु । यो खुसीलाई मंसिर १६ गते हुने निर्वाचनपछिको नतिजा विजयमा रुपान्तरण गर्नुछ । यसकारण ममा व्यक्तिगत रुपमा आँट, साहस र उर्जाले भरिएको छ । यो उर्जालाई टिकाइ राख्न पाटीको गाउँपालिका कमिटि, इन्चार्ज र जिल्ला कमिटिको समेत विशेष तयारी हुन्छ र हुनेछ । मलाई विश्वास छ, तयारी जित्नेगरी लाग्ने र बधाईको लागि गाउँ गाउँसम्म पुग्ने प्रि प्लानमा छु ।

चुनावी एजेन्डाहरु के के छन् ?
स्थानीय तहको सरकार जनताको घरदैलोको सरकार हो । यसकारण गाउँ गाउँमा सिहंदरबार भनिएको होला । जनताको थुप्रै चाहना र आकाक्षाहरु हुन्छन् । तर, म के कुरामा स्पष्ट छु भने,‘चार वटा विषय प्रधान विषय हो ।’
सामाजिक रुपान्तरण, आर्थिक विकास, स्वरोजगार र पुर्वाधार विकास नै चुनावी एजेन्डा हुन् ।
यी विषयलाई सुष्म ढंगले अध्ययन गर्ने छु । यहाँको जनजीवन, स्वास्थ्य, शिक्षा यातायात, महिलाहरुको अवस्था र आदिवासी जनजातिहरुको विषयमा स्पष्ट एजेन्डा लिएर पारदर्शी ढंगले काम गर्ने छु ।
गौरीशंकर क्षेत्रमा तपाईको उपस्थिति र प्रभाव कस्तो छ ?
दोलखाको भुगोलको विषयमा धेरथोर जानकार छु । गौरीशंकर क्षेत्र मेरो कर्म भूमी हो । मेरो बाल्यकालदेखि नै गौरीशंकर क्षेत्रको बाटो, माटो, पानी, गाउँ र ठाउँहरुको विषयमा थोरबहुत जानकारी छ । मेरो आफन्त, परीवार, नातागोताको छुटै प्रभाव भएको पालिका हो ।
यति मात्रै होइन, गौरीशंकरमा हाम्रो पाटी बलियो छ । म भन्दा पनि पाटीको सुर्य चिन्ह स्पष्ट छ । हिजोको दिनमा पनि थियो । अहिले पनि छ । भोलि झन प्रष्ट हुने छ । वैचारिक हिसावले मात्रै होइन, सामाजिक हिसावले पनि गौरीशंकर क्षेत्रको विभिन्न गाउसँगको सामिप्यता गहिरो छ । नभएको ठाउँमा बनाउने हो । भएको ठाउँलाई अझ स्पष्ट र चहकिलो बनाउने हो । यसकारण मेरो र मेरो पाटीको प्रभाव यो क्षेत्रमा छ ।
तपाईमा अन्य राजनीतिक दलको उम्मेदवार भन्दा के फरक छ ?
मेरो प्रतिस्पर्धीहरु सबै सक्षम हुनुहुन्छ । उहाँहरुलाई सम्मान गर्न चाहान्छु । तर, उहाँहरु भन्दा केही कारणसहित फरक उम्मेदवार हु । राजनीतिक रुपमा फरक छु । विचार र दृष्टिकोणको हिसावले झन फरक छु । म कुनै ‘डमि’ उम्मेदवार होइन । म खुलेर राजनीतिक तथा वैचारिक दृष्टिकोण राख्न सक्छु, महिलाको सवालमा, जनजीविकाको सन्दर्भमा, गौरींशकर क्षेत्रको प्राकृतिक स्रोतसाधनको विषयमा बहस गर्न सक्ने ताकत राख्छु ।
ग्रामिण पुर्वाधार विकास, सामाजिक विविधतामा एक रुपताको लागि गरिने अभ्यास र सहकार्य, गौरीशंकर क्षेत्रको विकासमा पालिका अध्यक्षसँगको पारदर्शी समन्वय, प्रदेश र संघका सांसदसँग टेबल मिटिङ गरेर हाम्रो पालिकामा बजेट ल्याउन पहल गर्न सक्ने आत्माविश्वास छ ।
यसकारण म के विषयमा स्पष्ट छु भने, म मेरो विचार र तर्क जुनसुकै ठाउँ, गाउँ र व्यक्तित्वसँग राख्न सक्छु ।
स्थानीयतह सञ्चालन ऐन, नियमावली मात्रै होइन, सुशासन र पादर्शीताको विषयमा शिर ठाडो बनाए काम गर्न सक्ने हिम्मतले राजनीति क्षेत्रमा उभिएको छु । आशासँगै विश्वास छ, गौरीशंकर क्षेत्रका जनताको अमुल्य मतले विजय सुनिश्चित छ ।
अन्तमा केही भन्नु हुन्छ ?
मिडिया समाज रुपान्तरणको ऐना मात्रै होइन, देशकै चौथो अंग हो । यसकारण स्पष्ट विचार राख्नका लागि ठाउँ दिनु भएकोमा तपाई र तपाईको टिमप्रति आभारी छु । धन्यवाद ।

संवाद : अर्जुन पाख्रिन ।।