गौरीशंकर न्यूज, कात्तिक ५ दोलखा-राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाले आज (सोमबार) दोलखाको सदरमुकाम चरिकोटमा प्रदर्शन गर्ने भएको छ। पार्टीले दोलखाको सदरमुकाम चरिकोटमा सभापति रवि लामिछाने पक्राउ परेपछि सोमबार प्रदर्शन गर्ने भएको हो। पार्टीले दिउँसो एक बजे चरिकोटमा प्रदर्शन गर्ने तयारी गरीरहेको राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका प्रवक्ता जयराम खड्काले जानकारी दिनुभयो। उहॉका अनुसार जिल्लाभरका नेता तथा कार्यकर्तालाई चरिकोट उपस्थितहुन अनुरोध गरिएको छ।

त्यसैगरी पार्टीले आइतबार सभापति रवि लामिछानेलाई केन्द्रिय कार्यालय वनस्थलि बाट पक्राउ गरिएकोमा घोर भर्त्सना गर्दै विज्ञप्ती जारी गरेको थियो।राजनितिक प्रतिशोधका आधारमा नयाँ परिवर्तनकारी शक्तिलाई दवाउने उद्देश्यका साथ नियोजित ढंगबाट गरिएको धरपकड हामीलाई कदापी स्वीकार्य नभएको राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका सभापति दिनेश बस्नेतद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

सहकारी ठगी र सङ्गठीत अपराधमा अनुसन्धानका लागि गत शुक्रबार पक्राउ पर्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले छ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले हिजो आईतबार लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । अनुसन्धान गर्न म्याद थपको अनुमतिका लागि लामिछानेलाई । हिजो जिल्ला अदालत कास्कीका न्यायाधीश दाहालको इजलासमा पेश गरिएको थियो ।