११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

दोलखामा बाढी र पहिरोमा परि मुत्यु भएका परिवारलाई १९ लाख राहत


३ कार्तिक २०८१, शनिबार  

224
Shares

गौरीशंकर न्यूज, कात्तिक ३ । दोलखा-दोलखामा बाढी र पहिरोमा परि मुत्यु भएका ७ जनाको परिवारलाई १९ लाख रुपैयाँ राहत प्रदान गरिएको जिल्ला विपद व्यवस्थापन समिति दोलखाले जनाएको छ ।जिल्लामा गत असोज ११ र १२ गतेको बाढी र पहिरोमा परि मुत्यु भएका ७ जनाको परिवारलाई नेपाल सरकारले प्रदान गर्ने राहत स्वरुपको नगद १९ लाख रुपैयाॅ वितरण गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाका नायब सुब्बा हरिराम न्यौपानेले जानकारी दिनुभयो ।उहाँका अनुसार बाढी र पहिरोमा परी मुत्यु भएका भीमेश्वर नगरपालिका वडा नम्वर ६ का राजकुमार भुजेलको परिवारलाई ७ लाख रुपैयाँ र माथिल्लो तामाकोशी जलविद्युत आयोजना ड्यामसाईटको पहिरोमा परि मुत्यु भएका ४जनाको परिवारलाई प्रति परिवार ३÷३ लाख रुपैयाँका दरले १२ लाख रुपैयाँ गरी जिल्ला विपद व्यवस्थापन समिति दोलखाको कोषबाट १९ लाख रुपैयाँ राहत वितरण गरिएको हो । जिल्लामा वाढी र पहिरो प्रभावित १ सय ५०जना भन्दा बढि परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल लगायतका सामग्रीहरु प्रदान गरिएको छ । जिल्लाको विपद व्यवस्थापन कोषमा करिब ८० लाख रुपैयाँ रकम रहेको समेत जिल्ला विपद व्यवस्थापन समिति दोलखाले जनाएको छ । जिल्लामा बर्षासँगै आएको बाढी पहिरोमा परी सात जनाको मृत्यु भएको थियो । लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्यामसाईटको पहिरोमा पुरिएर चार जनाको मुत्यु भएको थियो भने भीमेश्वर नगरपालिका वडा नम्बर ६ का एकै परिवारको ३ जनाको मुत्यु भएको थियो । 

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  १ : ५५ बजे