गौरीशंकर न्यूज, कात्तिक २ दोलखा– पहिले -पहिले दसैँको बेला दोलखाका धेरै ठाउँमा देखिने पिङ आजकाल देख्न मुश्किल पर्न थालेको छ। दसैँको मुख्य आकर्षण ठानिने पिङ गाउँघरबाट हराउँदै जान थालेको स्थानीय बताउछन् ।
गाउँघरमा युवा पुस्ताको पलायन,बदलिदो चाहना, पुराना सँस्कृति प्रतिको बिकर्षण लगायतका कारण पिङ लोप हुने अवस्थामा पुगेको स्थानीय जेष्ठ नागरिकहरुले गुनासो गरेका छन् । विगतमा महान चाड बडा दशै, तिहारको बेला सार्वजनिक स्थलमा परम्परागत, लिङ्गे पिङ, रोटे पिङ आदी देख्न पाईन्थ्यो तर अहिले गाउँघरमा पिङ लोपहुदै जान थालेको कर्ण बहादुर कार्कीले वताउनुभयो ।
युवाहरुको सकृयता र बुढापाको सहयोगमा पिङ राख्ने प्रचलन कुनै समय व्यापक नै थियो । आजभोली गाउँघरमा युवाको जमात निकै कम छ त्यसैले पनि पिङ हराउदै गएको छ। विगतमा बाटोघाटोमा पिङ भेटिने भएकाले खेल्ने गरिन्थ्यो तर अहिले कतै -कतै मात्रै पिङ देख्न पाइने गरेको जेष्ठ नागरिक प्रेम बहादुर खड्काले बताउनु भयो। युवा पुस्ता पिङ भन्दा पनि आधुनिक मनोरञ्जनका साधनमा झुम्मिन थालेकाले पिङको महत्त्व एवं आवश्यकता घट्दै गएको देखिएको हो।
नयाँ पुस्ता दसैँमा पिङ खेल्ने भन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, सामाजिक सञ्जाल चलाउने,नयाँ ठाउँ घुम्न जाने, तास खेल्ने भएकाले पिङको महत्त्व हराउँदै गएको स्थानीय राधा खत्रीले बाउनुतभयो। जिल्लामा विगत केही वर्षदेखि पिङ खेल्ने परम्परा घट्दै गएर केही स्थानमा मात्र सीमित बन्न पुगेको खत्रीको भनाई रहेको छ। स्थानीय सरकारले समेत पिङ संरक्षणको लागि चासो नदिएको खत्रीले गुनासो गर्नुभयो।
दसैँको परम्परागत रौनक हराउँदै गएर आधुनिक मनोरञ्जनका साधन थपिँदै जानु चिन्ताको विषय बनेको बुढापाका बताउँछन् ।