१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

दसैँमा काठमाडौँ उपत्यकामा ४८ हजार पशु विक्रि


२ कार्तिक २०८१, शुक्रबार  

0
Shares


गौरीशंकर न्यूज, कात्तिक २-दोलखा

यस वर्षको दसैँमा काठमाडौँ उपत्यकामा ४८ हजारभन्दा बढी खसी, बोका, च्याङ्ग्रा, भेडा, बाख्री, राँगा बिक्री भएका छन् । पशु सेवा विभागका अनुसार दसैँलाई लक्ष्य गरेर काठमाडौँ उपत्यकामा मासुका लागि त्यो सङ्ख्याका पशु बिक्री भएका हुन् ।

दसैँका लागि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट एक हजार सात सय र निजी क्षेत्रबाट ४६ हजार ५ सय ७३ गरी ४८ हजार २ सय ७३ वटा पशु बिक्री भएको विभागले जनाएको छ । विभागका अनुसार यस पटक दसैँमा मासुका लागि बिक्री भएका पशुमध्ये सबैभन्दा बढी खसी ३६ हजार ७ सय ४२ वटा, च्याङ्ग्रा तीन हजार १ सय २६, बोका एक हजार ६ सय ३५, भेडा छ सय, रागाँभैँसी एक हजार १ सय ७८ र बाख्री ८० वटा बिक्री भएका छन् ।

सो अवधिमा चार हजार ९ सय १२ वटा कुखुरा आएका छन् भने १ सय २९ मेट्रिकटन माछा भित्रिएको विभागको क्वारेन्टाइन महाशाखाका प्रमुख डाक्टर राजेश यादवले जानकारी दिनुभयो । यस वर्षको दसैँमा मासुका लागि कम पशु बिक्री भएका छन् । विभागका अनुसार गत वर्ष दसैँका बेलामा खसीबोका, च्याङ्ग्रा, भेडा, बाख्री र राँगा गरेर ५२ हजार ५ सय २४ वटा बिक्री भएकामा यो वर्ष ४८ हजार २ सय ५१ वटा बिक्री भएको हो ।

यो सङ्ख्या गत वर्षभन्दा चार हजार २ सय ५१ ले कम हो । यो वर्ष दसैँ नजिकिँदै गर्दा देशभर आएको अविरल वर्षाले निम्त्याएको बाढीपहिरोले सडक अवरोध हुँदा आयातमा समस्या भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  २ : ३५ बजे