गौरीशंकर न्यूज, कात्तिक १ । दोलखा विगु गाउँपालिका-४ का भैरव बहादुर श्रेष्ठले लादुकबाट चरिकोटसम्मको भाडा १ हजार ३ सय रुपैयाँ तिर्नु भएको छ । दशैं सकिएसँगै सदरमुकाम चरिकोट र काठमाडौं जाने यात्रुहरुले तोकिएको भाडादरभन्दा करिव ७० प्रतिशत बढि भाडा तिर्न बाध्य भएको पाइएको छ ।
यातायात व्यवसायीको मनोमानी भाडाका कारण दशैअघि पनि एक हजारभन्दा धेरै भाडा तिर्नु परेको यात्रुहरुको गुनासो थियो । सवारीका साधानहरुले मनपरी भाडा असुल्न थालेपछि दोलखाका यात्रुले सास्ती व्यहोरिरहेका छन्। लादुकबाट चरिकोट आउनु भएका ७५ वर्षिय श्रेष्ठले घरबाट सिँगटीसम्म आउनका लागि ८ सय रुपैयाँ भाडा तिर्नु परेको थियो भने सिँगटीबाट चरिकोटसम्म आउनका लागि ५ सय रुपैयाँ बसले भाडा लिएको गुनासो गर्नुभयो । यसअघि श्रेष्ठले घरबाट सिँगटी आउदाँ २ सय रुपैयाँ र सिँगटीबाट चरिकोट आउदाँ २ सय ५० रुपैयाँ भाडा तिर्ने गर्नुभएको थियोे ।
तेलको मुल्य बढेको लगायतका कारण देखाउदै सवारीका साधानहरुले भाडा बढि लिने गरेको श्रेष्ठले गुनासो गर्नुभयो । आफुलाई उजुरी गर्ने ठाउँको बारेमा थाहा भएको भएपनि उजुरी नगरेको समेत श्रेष्ठले बताउनु भयो । उजुरी गरे पनि कारबाहि हुने कुरामा आफुलाई विश्वास नलागेकाले उजुरी गरिन श्रेष्ठले भन्नु भयो ।श्रेष्ठले जस्तै शैलुङ गाउँपालिका वडा नम्वर ८ बाट काठमाण्डौँको भाडामा ७ सय रुपैयाँ लिने गरेको भएपनि हाल रिर्जभको वाहानामा १ हजार रुपैयाँ आफुलाई लिएको रुपेश तमाङले बताउनु भयो
। नियमीत चल्ने क्युका बसहरु कम आउने र रिर्जभको बाहानमा यात्रुहरुलाई ठग्ने गरेको तमाङले गुनासो गर्नुभयो । जिल्लाको शैलुङ गाउँपालिकाको वडा नम्वर ८ले पुर्व अरनिको यातायात प्रा.लि.लाई थप जवाफदेहिता बहन गर्न र गराउन ध्यानकर्षण समेत गराएको छ । बिगत लामो समय देखि मुडे-मेलुङ सडक खण्ड र समग्र शैलुङ गाउँपालिका भित्रका विविध रुटमा संचालित पुर्व अरनिको यातायात प्रा.लिका बसका कर्मचारीले अमर्यादित,अभद्र व्यवहार गर्ने, निर्धारित शुल्क भन्दा अस्वाभाविक तरिकाले दोब्बर,तेब्बर भाडा असुली गर्ने, काउन्टरबाट यातायात प्रा.लि.ले तोकीएको ढाँचामा टिकट नदिई मनलाग्दी तरिकाले सादा कागजमा ३÷४ जनालाई एउटै नक्कली टिकट दिने गरेको जन–गुमासो बढेको भन्दै वडाले विज्ञप्ती मार्फत पुर्व अरनिको यातायात प्रालिको ध्यानकर्षण गराएको हो ।
शैलुङ गाउँपालिकाले ध्यानकर्षण गरेता पनि समितिले फ्री क्यु सिस्टम मार्फत गाडी पठाउने आश्वान दिने, कार्यान्वयन नगर्ने र पटक –पटक ध्यानकर्षण गर्दा पनि बेवास्ता गर्ने गरेको हुदाँ यस्तो गैर जिम्मेवारी प्रति पुर्व अरनिको यातायात प्रा. लि. लाई थप जवाफदेहिता बहन गर्न र गराउन ध्यानकर्षण गराईएको वडा नम्वर ८ का वडा अध्यक्ष धन बहादुर तमाङद्धारा हस्ताक्षिरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अब उप्रान्त यस्ता घटनाहरु पुनः दोहोरीएको खण्डमा कानुनअनुसार कार्वाही गरिने समेत वडाले यातायात प्रालिलाई विज्ञप्ती मार्फत चेतावनी दिएको छ। सवारीका साधानहरुले बढि भाडा लिने गरेको पाईएको भएपनि जिल्लामा एउटा पनि उजुुरी दर्ता नभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक दाताराम अधिकारीले बताउनु भयो ।
प्रमाण सहित उजुरी आएमा यातायात व्यवस्थापन समितिले तोकेको भाडादरमा सवारीका साधान सञ्चालन गर्न नमान्नेलाई हदै सम्मको कारवाही गर्ने प्रहरीले बताउनु भयो । यात्रुहरुलाई प्रमाणसहित उजुरी गर्न समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्रराईले अनुरोध गर्नु भयो। मनपरी भाडा असुल्ने, क्षमता भन्दा बढी यात्रु कोच्नेदेखि यात्रुवाहक सवारीमा मालसामान राख्ने गरेको पाइएको भए पनि उजुरी भने कसैले नगरेका कायण कारबाही गर्न नसकिएको भट्टराईले बताउनु भयो ।