भौतिक पुर्वाधार कार्यालय चौताराका सव–ईन्जिनियर हिरा बाबु थापासहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।
बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय पूर्वाधार कार्यालयका प्रमुख सव–ईन्जिनियर हिराबाबु थापा र करारमा राखिएका सव–ईन्जिनियरहरु सुम्बा शेर्पा र नहकुल शिवाकोटीविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्र्तगतको कसुरमा विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
दोलखाको विगु गाउँपालिका ३ स्थित लाकुरीडाँडा–पिपल डाँडा सडक स्तरोन्नतीको १० लाखको ठेक्काको काम सम्पन्न गरेर कमिसन वापत ८० हजार घुस लिन थापाले शेर्पा र शिवाकोटी पठाएको तथ्यसहित गौरींशकर न्यूजको टिमले फेला पारेको थियो ।
गौरीशंकर न्युजको इस्ट्रिङ अप्रेशनले कमिसन वापतको रकम लिएका दुवै जनालाई घुस रकमसहित पक्राउ गरेका थिए ।
उनीहरुलाई भ्रष्टाचारसम्बन्धि मुद्धामा थप अनुसन्धानका लागि जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाईएको थियो ।
अख्तियारले थापालाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा ८० हजार बिगो र सोही ऐनको देहाय ‘ग’ बमोजिम कैद सजाय तथा बिगो बराबरको जरिवाना माग गर्दै मुद्धा दर्ता गरेको हो । शिवाकोटी र शेर्पालाई पनि थापाको कसुरमा मतियार भई भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २२ बमोजिमको कसुरमा मुख्य कसुरदार सरह नै सजाय मागदावी गरिएको अख्तियारद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
दोलखाको जिरी नगरपालिका–५ का शेर्पा र कालिञ्चोक गाउँपालिकाका–८ घर भएका शिवाकोटी असार २१ गते चरिकोटबाट ८० हजार रकमसहित पक्राउ परेका थिए ।