गौरींशकर न्यूज
चरिकोट ।
नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष तथा पशुपति कन्या मन्दिर माध्यामिक विद्यालयका शिक्षक दिपशंकर चौलागाईले १४ वर्षकी छात्रा (नाम परिवर्तन–माया) माथि यौन दुरव्यवहार गरेको विषय आन्तरिक रुपमा ‘डिसमिस’ गर्न खोजिएको छ ।
शिक्षक चौलागाईले अध्यापन गराइरहेको पशुपति कन्या मन्दिर माध्यामिक विद्यालयका कक्षा ८ की एक छात्रामाथि दुरव्यवहार गरेको घटना आन्तरिक रुपमा गुपचुप गर्दै लुकाइएको हो ।
यो घटना २०८१ वैशाख १८ गतेको हो । तर, विद्यालयको बदनाम हुने भन्दै तीन सय छात्राहरु अध्ययनरत पशुपति कन्या मन्दिर चरिकोटको यो घटना सामसुम गर्न खोजिएको छ । एक छात्रामाथि पुरुष शिक्षकले गरिएको अनैतिक हर्कतलाई लुकाउन खोज्नु आफैमा अक्ष्यम्य निर्णय रहेको एक अभिभाकले बताए ।
दोलखा जिल्लाकै एक मात्रा छात्रा अध्ययन गर्ने विद्यालय हो,‘पशुपति कन्या मन्दिर’ । जिल्लाको विभिन्न स्थानीयतहका छात्राहरु यो विद्यालयमा अध्ययरत छन् । तर, शिक्षकका कारण विद्यालय बदनाम हुन नहुने अभिभावकको भनाई छ ।
विद्यालयका प्रअ गोविन्द नारायण मानन्धरले दिपशंकर चौलागाईको हर्कत लुकाउन नखोजिएको जवाफ दिए । उहाँले कक्षा ८ को छात्रामाथि गरिएको अस्वभाविक क्रियाकलाप र स्वयम शिक्षक चौलागाईले गल्ती भए माफी चाहान्छु भनेपछि तह घटाएर कक्षा २ देखि ५ सम्म मात्रै पढाउने निर्णय गरिएको मानन्धरले जानकारी दिए ।
पीडित पक्षको अभिभावकले छोरीमाथि गरिएको दुर व्यवहारको विषयमा प्रअलाई लिखित रुपमा पत्र बुझाएको बताए । शिक्षकको हर्कतको विषयमा कारबाहि गर्नका लागि पत्र बुझाए पनि आन्तरिक रुपमा हामीलाई मिलौं भनेपछि ‘नाई भन्न सकेनौं’ अभिभावकको भनाई थियो ।
सामान्य परिवार, समाज प्रतिको डर, प्रअ र शिक्षकसँग कडा रुपमा प्रस्तुत हुन नसक्दा पिडित पक्ष अन्यायमा हुन सक्ने महिला अधिकारकर्मीहरुको भनाई छ ।
तर, यो घटना सामान्य ढंगले लुकाउन खोजिए पनि कानुनी प्रक्रिया एक वर्षसम्म हुने बालबालिकासम्बन्धी ऐन २०७५ को परिच्छेद ८ मा बालबालिकाविरुद्ध हुने कसुरसम्बन्धी व्यवस्था छ ।
प्रअ मानन्धरले शिक्षा ऐन अनुसार शिक्षक दिपशंकर चौलागाईलाई लिखित रुपमा स्पष्टिकरण सोधिएको र शिक्षकले ‘मैले यस्तो व्यवहार गरेको छैन । गल्ति भए माफी पाउँ’ भनेर चौलागाईलाई माफि दिएर घटनालाई सामसुम गर्नु आफै न्याय हुन नसक्ने अर्का अभिभावको भनाई छ ।
मानवअधिकारकर्मी तथा इन्सेक दोलखाका प्रतिनिध उदव प्रसाद पोखरेलले यो घटनाको विषयमा हल्ला सुनिएको हो तर। पिडित पक्ष बाहिर आउन नसकेको बताए ।
‘बालिकामाथि दुरव्यवहारको घटना न्यायिक निकायसम्म नपुगी आन्तरिक रुपमा मिलाउनु र मिलाउन खोज्नु पिडित पक्ष अन्यायमा पर्नु हो,’ इन्सेक पोखरेले भने,‘पिडित पक्षले न्याय पाउनुपर्छ, यो विश्वव्यापि सिद्धान्त हो । यस विषयमा हामी प्रतिबद्ध छौं।’
यो घटनालाई सजिलै ढाकछोप्न गर्न खोजिए पनि सामसुम हुन नसकिने महिलाअधिकार कर्मीहरुको भनाई छ । आन्तरिक कारबाहि भन्दै प्रअ मानन्धरले शिक्षक चौलागाईको तह घटाएर बचाउ गरे सजायको भागिदार प्रअ समेत हुने महिलाअधिकार कर्मी सिर्जना कार्कीको भनाई छ ।
खराब नियत भएको शिक्षक बचाउका लागि विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रअको आन्तरिक छलफलले कन्या मन्दिरको छात्रामाथि भएको दुर व्यवहार ‘डिसमिस’ गर्नु सामाजिक अपराध भएको कार्की बताउँछिन् ।
यो राम्रो होइन । घटना होइन भने किन झुटो आरोप लगाउने । हो, भनेपछि कारबाहि गर्नु पर्यो । सामुदायिक विद्यालयमा किन राम्रो हुन सकेन । भौतिक संरचना राम्रो भएर भएन, अनैतिक शिक्षा रोक्नु पर्ने अधिकारकर्मी कार्कीको भनाई छ ।
‘यो घटना जति सामान्य ढंगले गुपचुप गरियो । यसले कन्याका तीन सय छात्राहरुका लागि खतरा, असुरक्षित र अन्यायपूर्ण छ,’ महिला अधिकारकर्मी कार्कीले भनिन्,‘यो विषय अब बाहिर आउँछ । बालिकामाथि यस्तो दुरव्यवहार गर्न मिल्छ । बालमैत्री नगरपालिका भन्ने अनि मेयर हिड्ने बाटैमा यस्तो घटना लुकाउन मिल्छ।’
पत्रकार महासंघ दोलखाको अध्यक्ष भएको दम्भसहित विद्यालयमा रवैया देखाउँदै आएका चौलागाईले छात्रामाथि गरिने यो घटना पहिलो भने होइन । विगतमा पनि यस्तो घटना हुने गरेको तर, बाहिर आउन नसकेको विद्यालयका छात्राहरु बताउँछन् ।
यस विषयमा सम्बन्धित पक्षको भनाईहरु
प्रअ गोविन्द मानन्धर
एक छात्रामाथि गरिएको घटना विवरण हेर्दा र बुझ्दा असामान्य लाग्यो । यो घटना १८ गते भएको रहेछ । म विद्यालयकै कामले धुलिखेल थिए । फर्किए लगतै यस विषयमा जानकारी लिए । वैशाख २१ गते छात्राको अभिभावक मनोज (नाम परिवर्तन) मेरो छोरीमाथि शिक्षक दिपशंकर चौलागाईले दुरव्यवहार गरेको, अस्वभाविक, अभद्र व्यवहार, मेरो छोरी विद्यालयमा असुरक्षित रहेको भन्दै निवेदन दिन आउनु भयो । यसको विकल्पमा के गर्ने भनेर विद्यालय व्यवस्थापनको टिमसँग छलफल गरियो ।
घटना सामान्य नभएपछि छात्राले अभिभावकलाई जानकारी गराएको देखिन्छ । यसपछि अभिभावकले यो घटना अस्वभनिय भएको भन्दै शिक्षकमाथि कारबाहि गरि पाउँ भनि वैशाख २१ गते निवेदन दिएको थियो ।
…………………………
वैशाख २१ गते ।
घटना सामान्य नभएपछि छात्राले अभिभावकलाई जानकारी गराएको देखिन्छ । अभिभावकले शिक्षकको अस्वभाविक व्यवहारप्रति कारबाहिका लागि विद्यालयको प्रअलाई वैशाख २१ गते निवेदन दिएको थियो । तर, प्रअले पुनः विद्यार्थीलाई निवेदन लेख्न लगाएको थियो ।
वैशाख २३ गते
शिक्षा ऐन अनुसार स्पष्टिकरण सोधियो । शिक्षक दिपशंकर चौलागाईले वैशाख २३ गते स्पष्टिकरण दिएको पत्रमा ‘गलत भएमा माफि समेत माग्दछु ।’ मैले यस्तो व्यवहार गरेको होइन भनेर माफि मागे ।
विद्यालयका प्रअ गोविन्द मानन्धरले विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रअसहितको शिक्षक, विद्यार्थी र शिक्षक दिपशकर चौलागाईबीच भएको छलफल, स्पष्टिकरण, निर्णयको प्रतिनिलिपि भने दिन मानेन । उनले आफूले सेफ ल्यान्डिङ गरिसकेको भन्दै उक्त बैठकको प्रतिलिपि दिन परे माथिल्लो निकायमा छलफल गरेर मात्रै दिने बताए ।
उनले दराज खोलेर सबै निर्णय, स्पष्टिकरण, निवेदन पनि देखाए तर, फोटो खिच्न दिएन । (अडियो सुरक्षित छ)
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष : अनिता श्रेष्ठ
मैले छात्रासँग भेटेको छैन । तर, हामीले छलफल गरेर यो विषय टुङ्ग्याएको थियौं ।
कसरी ? छात्रासँग संवादन नै नभएर कसरी टुङ्ग्याउनु भयो,‘अविभावक र शिक्षक बसेर यो विषय मिलाएको हो । तर, बजारमा अहिले गुपचुपमा मिलायो भन्ने हल्ला फेरि सुने, अब म छात्रासँग भेटेर के भएको हो कुरा गर्छु ।
मेरै अध्यक्षतामा बैशाख २४ गते विद्यालयको बैठक बसेर यो विषय मिलाएका थियौं । हामीले कारबाही गरिसकेको छ । यदि नानीलाई गलत हर्कत गरिएको रहेछ भने,‘शिक्षक चौलागाईलाई विद्यालयबाट निस्कासन गर्छौं।’
अविभावकको भनाई
मेरो छोरीले हामीलाई शिक्षकको हर्कतको विषयमा भनेपछि विद्यालयमा वैशाख २१ निवदेन दिएको हो । तर, कारबाहि के भयो थाहा छैन । यो अन्यायपूर्ण हर्कत हो । शिक्षक चौलागाईमाथि कारबाहि हुनुपर्छ । छोरीहरुमाथि गरिएको अभद्र व्यवहारका कारण विद्यालयकै प्रतिष्ठामाथि प्रश्न उठेको छ ।
शिक्षक दिपशंकर चौलागाई
दिपशंकर चौलागाईको भन्छन्,‘त, यो विषयमा धेरै चासो लिने होइन । म पनि चरिकोटको एक डन हुँ, भाई । सुन,(चरिकोट सातदोबाटो) हेर भाई आमा कसम मैले केही गरेको होइन । पढाउदा मैले गालि गरेको हुँ । तर, त्यस्तो हर्कत गरेको छैन, भनेको । आमा कसम छैन, भन्या ।
जिल्ला प्रहरी कार्यालय दोलखा
दोलखाका प्रहरी नायव उपरिक्षक (डिएसपी) युवराज खड्काले यस विषयमा कुनै जानकारी नआएको बताए । यो घटना कहिले र कसरी भएको रहेछ भन्ने विषयमा आवश्यक सूचना लिने डिएसपी खड्काले जानकारी दिए ।
अध्यक्ष, सिविन नेपाल, माधव प्रधान
छात्रामाथि नकरात्मक दृष्टिले हेर्ने, छुने लोभ लालच देखाएर यौन दुरव्यवहार गर्ने शिक्षक सिधै कारबाहिमा पर्छ । आन्तरिक कारबाहि गर्ने विद्यालय प्रशासनको काम होइन । यदि यस्तो हो भने विद्यालयका प्रअले घटनाको ढाटछोप गरेको भन्ने प्रष्ट हुन्छ । यसकारण आन्तरिक रुपमा बाल यौन दुरव्यवहार लुकाउन खोज्नु अर्को अन्याय हो । विद्यालयले यस्ता शिक्षकलाई तुरुन्तै कारबाहि गर्नुपर्छ ।
कानूनी प्रावधान र सजाय
बालबालिकासम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ६६ मा बालबालिकाविरुद्ध हुने कसुरसम्बन्धी व्यवस्था छ । यो दफाको उपदफा (३) मा कस्तो कार्यलाई बाल यौन दुर्व्यवहार मानिन्छ र त्यस्तो कार्य गर्नेलाई बुँदागत रुपमा बालयौन दुर्व्यवहार भनिन्छः
(क) अश्लील चित्र, श्रव्यदृश्य वा यस्तैखाले अन्य सामग्री देखाउने, देखाउन लगाउने । अश्लील तथा यौनजन्य आचारण, व्यवहार झल्कने अभिव्यक्ति, हाउभाउ प्रदर्शन गर्ने, बाल अश्लिलता प्रदर्शन गर्ने, गराउने ।
(ङ) यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा छुने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो, अरु कसैको शरीरको संवेदनशील अंग छुन, समाउन लगाउने । यौनजन्य मनसायले बेहोस पार्ने, यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने लाई ७५ हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।