बाबुराम शर्मा
गाउँमा बाँदर आतङकको चरम सास्तीसँगै मानवीय क्षतिसमेत हुन थालेपछि दोलखाको मेलुङ गाउँपालिका– ७ का स्थानीयले सदरमुकाम चरिकोटमा प्रदर्शन गरी सम्बन्धित निकायमा ध्यानाकर्षणपत्र समेत बुझाएका छन् ।
बुधबार वडा नम्बर ७ का वडाध्यक्ष नवराज खड्काको नेतृत्वमा आएका गाउँलेको जुलुस सदरमुकामका विभिन्न क्षेत्रको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई सात बुँदे माग सहितको ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउँदै स्थानीयहरुले बाँदरबाट भोग्नु परेको समस्या अवगत गराएका थिए । पीडित बलराम श्रेष्ठले गाउँमा हुलका हुल बाँदर पसेर बालीनाली सखाप पार्नुका साथै घर र बस्तीमै पसेर मानिसलाई टोकेर घाइते बनाउने गरेको दुःखेसो सुनाउनु भयो ।
श्रेष्ठकी बुहारी लक्ष्मी श्रेष्ठको बाँदर धपाउने क्रममा गत वर्ष भीरबाट लडेर मृत्यु भएको थियो । ‘गाउँलेको कामै बिहानदेखि रातीसम्म खेतबारीमै बसेर बाँदर धपाउने भएको छ, हुलका हुल आउँछन्, घाइते बनाउँछन् । उहाँले भन्नुभयो, गत वर्ष बुहारी गुमायौं । बाँदर घरमै पसेर खानेकुरा बोकेर हिँड्न थालेको छ । पालीबाट घरभित्र पसेर भद्रगोल मच्चाइदिन्छ, घरभित्रको अन्नसमेत जोगाउन सकेनौँ ।
गाउँमा युवा नरहेको र वृद्ववृद्वा र केटाकेटी मात्रै रहेकाले हुलका हुल आउने बाँदर नियन्त्रण गर्न नसके बालीनाली मात्र सखाप नभई मानवीय क्षति झन् बढ्ने जानकारी दिँदे वडाध्यक्ष खड्काले गाउँलेले जिल्लास्थित राजनीतिक दलका प्रमुखहरुलाई समेत ज्ञापनपत्र बुझाएका बताउनुभयो ।
जिल्ला प्रशान कार्यालयमा ज्ञापनपत्र बुझाउन पुगेको बाँदर आतङकित किसानको प्रदर्शन । तस्विर बाबुराम शर्मा
