१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

गणतन्त्रको १६वर्ष के पायौं-के गुमायौं


१४ जेष्ठ २०८१, सोमबार  

102
Shares

गणेश बुढाथोकी

जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । नेपालमा गणतन्त्र आएको १६ वर्षमा संविधानसभा बाट संविधान जारी भएको छ  । सङ्घीयता कार्यान्वयन भएको छ । राजा हटाएर जनताका छोराछोरी देशको राष्ट्रपति भएका छन् । संविधानको व्यवस्था अनुसार देशमा तीन तहको सरकार सञ्चालनमा छन् । दुई दुई पटक देशमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । अहिले वडा देखि केन्द्रसम्म जनताका जनप्रतिनिधिहरूले काम गरिरहेका छन् ।  यो अवधिमा देशमा व्यवस्था परिवर्तनको राजनीतिक आन्दोलनले एउटा कोर्स पुरा गरेको छ ।

 तर नेपालका राजनीतिक दलका नेताहरूको आपसी असमझदारी र सत्ता स्वार्थको प्रवृत्तिले गर्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्र दरिलो सँग स्थापित हुन सकेको छैन । दलहरूको अस्वस्थ प्रतिस्पर्धाले गर्दा गणतन्त्रमाथि प्रश्न उठ्न थालेको छ ।

राजनीतिक स्थायित्वमा प्रश्नहरू उठिरहेका छन् । देश राजतन्त्रबाट गणतन्त्रमा आउँदा नागरिकले व्यवस्था परिवर्तनको महसुस मनदेखि गर्न सक्नु पर्थ्यो । तर यो १६ वर्षको अवधिमा नागरिकले शासन व्यवस्था परिवर्तनको महसुस उनीहरूको दैनिक जीवनमा देखिने गरी गर्न सकेनन् । तन्त्र परिवर्तन भयो तर नागरिकका दुखहरूमा शासन व्यवस्थाले महसुस गर्ने गरी मलम लगाउन सकेन । नागरिकले सोचेको गणतन्त्र र अहिले गणतान्त्रिक नेपालमा भइरहेका घटनाक्रममा धेरै फरक छ । अर्थात् सोचेको गणतन्त्र र भोगेको गणतन्त्रमा धेरै फरक देखिन थालेको छ ।

तर यसको अर्थ यो १६ वर्षमा हुँदै नभएको भने होइन । केही सकारात्मक परिवर्तन भएका छन् । महिला सशत्तिकरण, समावेशिता, धर्मनिरपेक्षता, सङ्घीयता कार्यान्वयन जस्ता विषयमा कामहरू भएका छन् । तर गणतन्त्र स्थापना भएको १६ वर्षमा जति कामहरू हुनुपर्ने हो, जति जनताको सामाजिक आर्थिक विकास हुनुपर्ने हो त्यति भएको छैन । देश राजतन्त्रबाट गणतन्त्रमा आउँदा पनि नागरिकले मुलरुपमा तन्त्र परिवर्तन बाहेक अन्य विषयमा मनदेखि महसुस गर्ने गरी गणतन्त्रको स्वाद लिन पाएका छैनन् ।

देशको विकास र समृद्धि तथा नागरिकको सरोकारका विषयमा भने अझ धेरै काम हुन बाँकी छ । संविधानले व्यवस्था गरेको मौलिक हक कार्यान्वयन हुन सकेको छैन । देशको सार्वजनिक शिक्षा, स्वास्थ्यमा गुणात्मक सुधार आवश्यक छ । युवाहरू रोजगारीको लागि विदेश पलायन भइरहेका छन् । आम नागरिकमा देशमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास हराउँदै गएको छ । देशमा खुलेआम ठुला ठुला भ्रष्टाचार भइरहेको छ । भ्रष्टाचारका काण्डहरू बाहिरिँदा पनि सरकार र राजनीतिक दलहरू मुख दर्शक देखिन्छन् । देशमा सुशासन छैन । जनताका सार्वजनिक सरोकारका विषयमा राजनीतिक दल र सरकार जिम्मेवार देखिँदैनन् । विकास निर्माणमा ढिलासुस्तीले हद नाघिसक्यो । यी र यस्ता यावत समस्याले नागरिकले परिकल्पना गरेको र  सोचेको गणतन्त्रलाई गिज्याइरहेको छ । त्यसैले यो अवधिसम्म आइपुग्दा देशमा गणतन्त्रले दरो खुट्टा टेक्नुको सट्टा खुटा लरबराएको महसुस हुन थालेको छ ।

गणतन्त्रको विकल्पमा कुरा हुन थालेको छ । गणतन्त्र विकृत बन्दै गएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेताहरू धनी हुँदै जाने जनताहरू गरिब बन्ने व्यवस्थामा परिणत हुन थालेको छ । चप्पल लगाएर सिहदरवार सयर गरेका नेताहरू त्यतै रमाएर बसेका छन् । फलस्वरुप गणतन्त्र आउँदा रमाएका जनताहरू गणतन्त्रको १६ वर्षमा आइपुग्दा रिसाउन थालेका छन् । मानिसहरू गाउँ छोडेर सहर ताक्ने, देशका युवाहरू स्वदेश बाट विदेश जाने अवस्था गणतान्त्रिक व्यवस्थाका डरलाग्दा परिदृश्य हुन । देशमा आर्थिक सङ्कट देखिन थाल्नु गणतन्त्र र सङ्घीयताको स्थायित्व र निरन्तरतामा प्रश्न उठ्नु हो ।

गणतन्त्र दिवस प्रत्येक वर्ष आउँछ । गणतन्त्रलाई बलियो गरी संस्थागत गर्न हामीले १६ वर्षमा त्यस्तो के काम गरेका छौँ । कतै हामीले गणतन्त्र ल्याउँदा नागरिक सँग गरेका वाचा बिर्सियौँ कि ।  हामी गणतन्त्र ल्याउन सडकमा जाँदा लगाएका नाराहरू र देखाएका सपनाको धरातलबाट धेरै पर गइसकेका त छैनौँ । एक पटक सोच्न जरुरी छ ।  यो अवधिमा हामीले पनि धेरै राजनीतिक उतरचडाब देखेका छौँ, भोगेका छौँ । देशले भूकम्प, महामारी जस्ता विपद् भोगेको छ । यस्ता अनेकौँ समस्या बाट पनि नेपाली समाज दरो आत्मविश्वास बोकेर हिँडिरहेको छ । यो दरो आत्मविश्वासलाई समृद्धि र विकास सँग जोडेर गणतन्त्र ल्याउँदा सोचेको र भनेको नयाँ नेपाल बनाउने दृढता सबै राजनीतिक दल, नेता र आम नागरिकले गर्नुपर्छ ।

समस्या मात्र देख्ने , दोष मात्र लगाउने भन्दा पनि सबै जना आ आफ्नो ठाउँमा जिम्मेवार भएर गणतन्त्रलाई नागरिकको देनिकि सँग जोड्ने र नागरिकलाई प्रत्यक्ष अनुभूत हुनेगरि  काम गर्नु आवश्यक छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  १० : २२ बजे