बाबुराम शर्मा
ढिलै भए पनि दोलखाको उत्तरी बिगु गाउँपालिका–८ थामीचागुका भूकम्पपीडित सिमान्तकृत थामी समुदायका करिब चार दर्जनले भूकम्पप्रतिरोधी पक्की निजी आवास पाउने भएका छन् ।
लाभग्राही सूचीमा पर्न नसकेका सिमान्तकृत थामी समुदायका ४५ जनाले संघको अनुदानमा जनता आवास कार्यक्रमबाट भूकम्पप्रतिरोधी पक्की निजी आवास पाउने भएका सहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सन्तोषकुमार निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार लाभग्राही सूचीमा पर्न नसकेका भकारी बेरेर जीवन बिताइरहेका सिमान्तकृत थामी समुदायका ६९ जनाले आवेदन पेस गरेका थिए । जिल्लामा परेका ५५ कोटामध्ये अत्यावश्यक देखिएका ४५ जना थामी समुदायले आवास निर्माण गरिरहेका छन् । १५/१५ वटा तीन चरणमा आवास निर्माण भइरहेका छन् । बाँकी कोटा १० मा शैलुङमा दुई, जिरीमा तीन र तामाकोसीमा पाँच वटा भवन निर्माणाधीन अवस्थामा रहेका छन् ।
यहाँ उनीहरुको जग्गा अनुसार १२ वाइ १२ क्षेत्रफलमा दुई कोठे भूकम्पप्रतिरोधी पक्की आवास निर्माण भएका छन् । संघको अनुदान अनुसार पहिलो किस्ता एक लाख, दोश्रो किस्ता एक लाख र बाँकी किस्ता साढे एक लाख गरी साढे तीन लाख एकमुष्ट उनीहरुले पाउनेछन् ।
सहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख निरौलाले भन्नुभयो, बागमती प्रदेसले अब बाँकी रहेका शिक्षा, स्वास्थ्य, राजगारी समेतमा पहुँच नपुगेका भूकम्पपीडितको विवरण माग गरिरहेको छ । करिब छ सयको विवरण प्राप्त भएको छ । अनुगमन गरी यथार्थ पत्ता लगाउने काम भइरहेको छ ।
कार्यविधि अनुसार अब छनौट भएका भूकम्पपीडितहरुले प्रदेसबाट आवास निर्माणका लागि चार लाख रुपियाँ पाउने उहाँले जानकारी दिनुभयो ।
६ जेष्ठ २०८१, आइतबार
22
Shares