चरिकोट । दोलखा जिल्लाको साहसिक पर्यटन प्रवद्र्धनका लागि ‘सोक्ला भ्याली रक क्लाईम्विङ’ हुने भएको छ । सोक्लाश्वरी पर्यटन विकास समाज (एसटिडिएस)ले चैत्र ९ र १० गते रक क्लाईम्विङ प्रतियोगिता आयोजना गर्न लागेको हो ।
एसटिडिएसले भीमेश्वर नगरपालिका वडा नंं.२ स्थित सोक्ला भ्यालीमा विगतदेखिनै रक क्लाईम्विङ सम्भाव्यता र प्रवद्र्धनको कार्य गर्दै आइरहेको छ ।
भीमेश्वर नगरपालिकाको आर्थिक सहयोग र माउन्डेन गाइड एसोसिएसन अफ नेपालको प्राविधिक सहयोगमा रक क्लाईम्विङ हुन लागेको आयोजकले जनाएको छ ।
कार्यक्रम संयोजक सिर्जना तामाङले वैशाख २५देखि २७ गते अन्तर्राष्ट्रिय सोक्ला भ्याली रक क्लाईम्विङको पुर्व तयारीका लागि चैत्र १० गते रक क्लाईम्विङ गर्न लागिएको बताए । १० गते रक क्लाईम्विका लागि इच्छुक आरोहीले २५० रुपैँया शुल्क बुझाउनु पर्ने छ ।