चरिकोट । भीमेश्वर नगपालिकाको उप-मेयर कमला बस्नेतले सोक्ला शिक्षा सदन भवनको शिलान्यास गर्नु भएको छ । मंगलबार विहान उप मेयर बस्नेत र वडा अध्यक्ष स्टालिन श्रेष्ठले उक्त भवनको संयुक्तरुपमा शिलान्यास गर्नु भएको हो ।
उप मेयर बस्नेतले सोक्ला भ्यालीको शैक्षिक गुणस्तर र वृद्धिका लागि नयाँ भवनको शिलान्यासले विशेष अर्थ राख्ने बताउनु भयो । सोक्ला, खेलाप, डाँडा गाउँ, नेगल फुलपा र चक्पा क्षेत्रको शैक्षिक स्तर वृद्धिका लागि नयाँ शैक्षिक सत्रबाट बालशिक्षा सञ्चालन गर्न सक्ने सहयोग गर्ने उप मेयर बस्नेतको भनाई थियो ।

‘भर्खर नयाँ भवनको संरचना बन्दै छ । अझ व्यवस्थित र गुणस्तरिय शिक्षाका लागि स्थानीयले विशेष सहयोग र साथ दिनुपर्छ,’ उप मेयर बस्नेतले भन्नु भयो,‘हामी आगामी आर्थीक वर्षमा थप बजेट व्यवस्थापन गर्छौ ।’
यस्तै चक्पा सोक्ला खेलापको सडक, डाँडा गाउँ सोक्ला सडकको स्तर उन्नतिको लागि विशेष जोड दिने उहाँको भनाई थियो ।
सोक्ला भ्यालीमा सिचांइको दिर्घकालिन व्यवस्थापनको लागि आफू गम्भीर भएको उपमेयर बस्नेतले बताउनु भयो ।
शिलान्यास कार्यक्रमका लागि लामा गुरु मानध्वज लामाले पूजापाठ गर्नु भएको थियो ।

शिलान्यास कार्यक्रममा भीनपा २ का वडा अध्यक्ष स्टालिन श्रेठ, वडा सदस्य सविना विक, जग्गा दाता तथा पुर्व वडा सदस्य निरबहादुर तामाङ, राजकुलेश्वर विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अजय प्रधान, फुलपा आधारभुत विद्यायलका प्रअ हरि श्रेष्ठ, शिक्षक कुशकुमार खत्री लगाएतको सहभागीता रहेको थियो । सो भवनको लागि चालुआवमा वडाले तीन लाख बजेट विनियोजन गरिएको थियो ।