बाबुराम शर्मा
चिरपरिचित दोलखाको सदरमुकाम चरीकोटमा केन्द्रीय कार्यालय रहेकोे मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिको नवनिर्मित सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।
भीमेश्वर नगरपालिका–६ स्थित बीचबजार चरीकोटमा करोडौँ रुपियाँको लगानीमा नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गरेपछि तिर्दै आएको भाडा मासिक लाखौँ रुपियाँ बचत पनि हुन थालेको संस्थाका कार्यकारी प्रमुख अधिकृत ईश्वर न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार पाँच करोड ६२ लाख ९७ हजार २९९ रुपियाँमा भवनको संरचना निर्माण भएको हो । आन्तरिक सजावटमा एक करोड ७९ लाख सात हजार २८२ रुपियाँ खर्च भएको छ । कुल सात करोड ४२ लाख चार हजार ५८२ रुपियाँ भवन ए का पाँच तला र बी को दुई तला रहेका छन् ।
संस्थाबाट भावी विपद् व्यवस्थापन कक्ष, पुस्तकालय, सेयर सदस्यहरुबाट उत्पादित वस्तुहरुको प्रदर्शनी कक्षसहित वित्तीय तथा गैरवित्तीय सेवा प्रवाह सहज हुने गरी कार्यालय व्यवस्थापन गरिएको छ । आफ्ना सेयर सदस्यहरुलाई तालिम प्रदान गर्न हलको व्यवस्था रहेको छ ।
सुविधा सम्पन्न भवन शारीरिक अशक्त सेयर सदस्यहरुलाई समेत सहज हुने गरी निर्माण भएको छ भने कार्यालयमा सदस्य सहायता कक्ष, काउन्टर, बचत तथा ऋण , सूचना प्रविधि, लेखा तथा प्रशासन समेतको कक्ष व्यवस्था रहेको संस्थाका कार्यकारी प्रमुख अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।
संस्थामा २५ हजार ५४३ सेयर सदस्य र नौ हजार ३३६ बाल बचतकर्ता गरी कुल ३४ हजार ८७९ जना बचत कर्ता रहेका छन् । संस्थाको कुल वासलात एक अर्ब ३१ करोड १० लाख ६९ हजार ८६२, बचत ९४ करोड ३८ लाख ६५ हजार, ऋण लगानी ९८ करोड ८३ लाख ७६ हजार ३४२ र संस्थाको कोषमा १२ करोड ५३ लाख ४० हजार ५०४ रुपियाँ रहेको छ ।
संस्थाको कार्य क्षेत्र दोलखा, सिन्धुपाल्चोक र काठमाडौँ रहेको छ । यी कार्य क्षेत्रमा १२ वटा सेवा केन्द्रहरु सञ्चालन गरी सेयर सदस्याहरुलाई सेवा प्रवाह गर्नुका साथै ४६ जनालाई रोजगारी प्रदान पनि गरिरहेको छ ।
संस्थाले राष्ट्रिय सहकारी बैंक, नेफ्स्कुन, आन्तरिक राजश्व कार्यालयबाट दुई पटक उत्कृष्ट सम्मान पाइसकेको छ भने अन्तर्राष्ट्रिय एक्सेस ब्रोन्ज र एक्सेस सिल्भर ब्रान्ड दुई पटक प्राप्त गरिसकेको छ ।
संसथा मुलकुका धेरै सहकारीहरुको अनुगमनको प्रमुख थलो बनेको मात्र होइन सहकारीको पाठशालाको रुपमा देखिएको छ ।
मिलीलुली कालिञ्चाक बचत तथा ऋण सहकारी संस्था लिको नवनिर्मित सुविधा सम्पन्न भवन ।