१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

दोलखा उद्योग वाणिज्य संघले बृहत्त दोलखा महोत्सव गर्ने


१९ मंसिर २०८०, मंगलबार  

14
Shares

बाबुराम शर्मा
चरिकोट, मंसिर १९ । समृद्ध दोलखा, सुखी दोलखाली, हाम्रो महोत्सव, राम्रो महोत्सव मूल नाराका साथ आगामी पुस महिनाको दोश्रो साता १० दिने बृहत्त दोलखा महोत्सव २०८० हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघले पुस १३ गतेदेखी २२ गतेसम्म दोलखा महोत्सव गर्ने भएको हो ।

कोभिड १९ ले थलिएको जिल्लाको व्यापार, व्यवसाय र सुस्त हुँदै गएको बजार चलायमान गराई स्थानीय उत्पादनहरुको प्रदर्शन तथा प्रचार प्रसार गर्दै बिक्री वितरण हुने वातारण सिर्जना गर्नुका साथै पर्यटकीय स्थलहरुको समेत चिनारी गराउने महोत्सवको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

सदरमुकाम चरीकोटमा निर्मित कोसेली घरमा जिल्लाभरका स्थानीय उत्पादन ल्याएर बिक्री वितरण गर्ने वातावरण सिर्जना गर्न पनि महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा सबै पालिकालाई आग्रह गरी सय वटाभन्दा धेरै स्टल राखिनेछ । विभिन्न जातिका भेषभूषा झल्कने सांस्कृतिक कार्यक्रमका साथै स्थानीयले उत्पादन गरेका औद्योगिक तथा कृषि सामग्रीहरू प्रदर्शनीमा राखिनेछन् ।

महोत्सवलाई भव्य र सभ्य बनाउन कार्यालय, संघसंस्था समेतको रहेको २६ सदस्यीय मूल तथा १४ वटा उपसमितिहरु ीनर्माण भएका छन् । महोत्सवको एक दिन बजारमा खाने बजारमै रमाउने व्यवस्था मिलाउने पनि तय भएको छ । दोलखाको समग्र विकासका लागि नौ वटै स्थानीयतहहरुसँग आर्थिक बहस सञ्चालन गरिनेछ ।

टुडिखेलदेखि भ्यू टावर हुँदै देउरालीसम्म, घोडचढी, बालोद्यानमा विभिन्न मनोरञ्जनका खेलहरु, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, लाकदोहोरी सञ्चालन गरिनेछ । उत्कृष्ट किसान तथा उद्यमीहरुलाई पुरस्कृत गरिनुका साथै दोलखा रत्नाहरुलाई सम्मान गरिने कार्य तय भएको छ । ज्येष्ठजन, अपाङगता भएका व्यक्ति र विद्यार्थीलाई सम्पूर्ण कार्यक्रमहरुमा विशेष छुट दिइनेछ । स्थानीय उद्यमी तथा व्यवसायीहरुलाई स्टल बुकिङमा समेत विशेष छुट दिइने संघका अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ४ : २८ बजे