१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

कतारका राजा नेपाल आउँदै


११ कार्तिक २०८०, शनिबार  

12
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणपछि कतारका राजा शेख तमिम बिन हमद अल थानी आउने बताएका छन् ।

शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले आफू नेतृत्वको सरकारको कुटनीतिक सफलताका कारण ठूला अन्तर्राष्ट्रिय भ्रमणहरु भइरहेको बताए । महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार राति नेपाल आउँदैछन् ।

‘उहाँ (संयुक्त राष्ट्रसंघका महासचिव) फर्केपछि कतारको राजा पनि आउँदै हुनुहुन्छ, यो सबै हाम्रो कुटनीतिक सफलताको परिणाम हो भनेर बुझ्नुपर्ने हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

संयुक्त राष्ट्रसंघको महासभा र अति कम विकसित मुलुकको सम्मेलनमा आफूले गरेको सम्बोधन र पहलका कारण संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आउन लागेका उनले बताए ।

‘यो पटक एलडीसीको चेयरम्यानको हैसियतले मैले संयुक्त राष्ट्रसंघको महासभामा, एसडीजी (दिगो विकास लक्ष्य) समिट र एलडीसी (अति कम विकसित मुलुक) समिटहरुमा मैले गम्भीर ढंगले नै कुराहरु उठाएको थिएँ । मलाई लाग्छ हाम्रो कुटनीतिक सफलताको परिणामस्वरुप महासचिव आउँदै हुनुहुन्छ, यसले नेपालको प्रतिष्ठामा र नेपाली जनताको आवश्यकता सम्बोधन गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ११ : ०५ बजे