चरिकोट । चीनसँग सीमा जोडिएको दोलखाको बिगु गाउँपालिका–१ को लप्ची सीमा नाका आइतबारदेखि खुल्ने भएको छ । चार वर्षदेखि कोभिड महामारीको कारण देखाउँदै बन्द गरिएको नाका दुई देशका सहमति अनुसार एक हप्ताका लागि नाका खुल्ने भएको हो ।
प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले लप्ची नाका एक हप्ताको लागी खुलाउने सूचना आएको जानकारी दिए ।
‘लप्ची नाका खुलाउने क्रममा बोर्डरमा बस्ने स्थानीयको परिचय पत्र, बोर्डर कार्डसहितको विभिन्न शर्त चिनियाँ पक्षले राखेको छ,‘प्रमुख जिल्ला अधिकारी धमलाले भने,‘नाका आइतबारदेखि खुलाउने हो । यस विषयमा थप छलफल गरिरहेका छौं ।’
बिगु गाउँपालिका–१ का वडा अध्यक्ष मेम्बा तामाङले नाका खोल्नका लागि धेरै पटक प्रयास गरिएपछि बल्ल एक हप्ताको लागि नाका खुलाउने अनुमति दिएको जानकारी दिए ।
एक हप्ताको लागि नाका खुलाउने भएका कारण स्थानीय हर्षित भएको वडा अध्यक्ष तामाङको भनाइ छ ।
उनका अनुसार कोभिड महामारीको कारण देखाउँदै चिनियाँ पक्षले सीमा बन्द गरेको चार वर्ष भएको थियो । रसुवालगायतका अन्य नाका खुलाउँदा लप्ची नाका बन्द नै गरिरहँदा स्थानीयहरूको नियमित आर्थिक गतिविधि पनि प्रभावित बनेको वडा अध्यक्षको भनाइ छ ।
नाका खुलेपछि लप्सीवासीको मुख्य आर्थिक स्रोत घ्यू र याकका बाच्छा तिब्बती बजार न्यालममा लगेर बेच्न पाउनेछन् ।
२०७२ को भूकम्पपछि केही समय बन्द भएको नाका कूटनीतिक पहलपछि पासको व्यवस्था गरेर सीमावर्ती बासिन्दालाई किनबेचका लागि आउजाउ खुला गरिएको थियो । कोरोना संक्रमणको सुरुवातसँगै ०७६ पुसदेखि पूर्ण रूपमा बन्द नाका अहिलेसम्म खुल्न सकेको थिएन ।