चरिकोट । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) दोलखा शाखाले ४ दिने ‘खोज पत्रकारिता तथा मल्टिमिडिया तालिम’ सुरु गरेको छ ।
मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकरले उक्त तालिमको उद्घाटन गरेका हुन् ।
तालिमको उद्घाटन गर्दै अध्यक्ष थोकरले अबको पत्रकारिता खोजमुलक हुनु पर्नेमा जोड दिए । सूचना मात्रै लिने प्रशारण तथा प्रकाशन गर्ने विषयले खास पत्रकारिता हुन नसक्ने भन्दै अध्यक्ष थोकरले खोज मुलक पत्रकारिता अहिलेको आवश्यकता भएको औल्याए ।
‘स्थानीय तहमा हुने विकास निर्माण, स्वास्थ्य, शिक्षा, पर्यटन, संस्कृतिको विषयमा खोजमुलक समाचार आउन जरुरी छ,’ अध्यक्ष थोकरले भने,‘पत्रकार सदरमुकाम र कम्प्युटर डेक्समा होइन फिल्डमा पुगेर विषय वस्तुको उजागर गर्नुपर्छ । अबको पत्रकारिता खास हुनुपर्छ।’

पछिल्लो समय पत्रकारको कार्ड भिरेर गलत प्रयोजन गर्ने प्रवृति विकास भएकाले यो विषयमा सरोकारवाला निकायले नियमन गर्नु पर्ने अध्यक्ष थोकरको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले पछिल्लो समय पत्रकारिताको नाममा कपि पेस्ट शैलीको विकास भएकाले अबको पत्रकारिता हरेक विषयमा खोलमुलक हुनु पर्ने धारणा राखेका थिए ।
दोलखाको हाइड्रो, सहरकारी, बैंक, पर्यटन, प्राकृतिक स्रोत साधनको दोहन जस्ता विषयलाई तथ्यगत रुपमा पत्रकारले उठाउनु पर्ने धमलाको भनाई थियो ।
‘सार्वजनिक विषय र अनियमिताको सवालमा समाचार आएको थाहा पाउने वित्तिकै तत्काल एक्सन लिन्छु । मलाई दोलखाको विषयमा धेरै जानकारी छैन,‘सिडियो धमलाले भने,‘अब खोज पत्रकारिता आवश्यक छ, सुचना होइन । समाचार लेख्नुस ।’
तालिम उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, पत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रीजन घिमिरे, सचिव दिल बहादुर केसी, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल, तामाङ पत्रकार संघ दोलखाका अध्यक्ष फुर्वा तामाङ लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

दोलखाको पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ उक्त तालिम आयोजना गरिएको फोनिज दोलखाले जनाएको छ ।
चार दिने तालिममा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संघीय उपाध्यक्ष अमरध्वज लामा, कान्तिपुर ग्रुपका उप सम्पादक केदार शिवाकोटी र आर्थिक पत्रकार समाजका अध्यक्ष सुजन ओलीले प्रशिक्षण दिने तालिम संयोजक लाक्पा शेर्पाले जानकारी दिए ।
तालिममा २२ जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन् ।
मेलुङ गाउँपालिकाको आर्थीक सहयोगमा सो तालिम सञ्चालन भएको हो । साथै सहयोगी संस्थाहरुमा आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेश, दोलखा मिडिया प्रालि र तामाङ पत्रकार संघ दोलखा शाखा रहेको छ ।
कार्यक्रम फोनिज दोलखाका अध्यक्ष अर्जुन पाख्रिनको सभाध्यक्षतामा भएको थियो ।




