११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

माथिल्लो तामाकोसीको विद्युत् उत्पादन १८ घण्टा बन्द हुने


३१ भाद्र २०८०, आइतबार  

88
Shares

देशकै ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट १८ घण्टा विद्युत् उत्पादन बन्द हुने भएको छ । जलविद्युत् केन्द्रको जलाशयमा थुप्रिएका गेग्रान सफा गर्न सोमबार बिहानबाट विद्युत् उत्पादन बन्द गरिन लागेको हो ।

४ सय ५६ मेगावाट क्षमताको जलविद्युत् केन्द्रमा सोमबार बिहान ४ बजेबाट राति १० बजेसम्म जलाशयको पानी खाली गरेर थुप्रिएको बालुवा तथा अन्य गेग्रान हटाउन लागिएको हो । जसका कारण १८ घण्टा विद्युत् उत्पादन बन्द हुने विद्युत् केन्द्रका प्रवन्धक पूर्णगोपाल रञ्जितले बताए । ‘यो नियमित प्रक्रिया हो, वर्षाका कारण बाढीले बगाएर ल्याएका गेग्रान जलाशयमा भरिँदै गएको छ,’ उनले भने, ‘जलाशयमा थुप्रिएको गेग्रान निकाल्न जलाशय खाली गरेर सफा गर्दैछौं ।’

तामाकोसी जलविद्युत् केन्द्रले सोही समयमा बालुवा थिग्राउने पोखरी, टनेल, र विद्युत् गृहको समेत सरसफाइ र मर्मत गर्ने उनले बताए । ‘वर्षमा दुई पटक जलाशय सफा गर्नुपर्ने भएपनि हालसम्म एक पटक मात्रै सफा गरिएको छ,’ उनले भने, ‘अबदेखि हिउँद र वर्षा दुवै समयमा जलाशय सफा गर्ने तालिका बनाएका छौं ।’ जलशय सफा गर्ने क्रममा तामाकोसी नदीको वहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

जलाशय खाली गर्ने क्रममा बाँधस्थलबाट पानी छाड्दा नदीमा एक्कासी पानी सतह बढ्ने भएकाले तामाकोसी र सुनकोसी तटीय क्षेत्रका स्थानीयलाई माछा मार्न, पौडी खेल्न, नुहाउन लुगा धुन, शव जलाउन, नदीबाट बालुवा निकाल्न नजान आग्रह गरिएको छ । तामाकोसी जलविद्युत् केन्द्रले लक्ष्य राखे अनुसार नै विद्युत् उत्पादन भइरहेकाले जलाशय सफा गर्न विद्युत् उत्पादन बन्द हुँदा आर्थिक नोक्सानी नहुने केन्द्रका प्रवन्धक रञ्जितले बताए । ‘हामीले राखेको उत्पादनको लक्ष्य भन्दा बढी विद्युत् उत्पादन भएको छ,’ उनले भने, ‘१८ घण्टा राष्ट्रिय प्रसारण लाइनमा तामाकोसीको विद्युत् उपलब्ध नहुँदा नोक्सानी हुँदैन ।’

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  २ : ४९ बजे