१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

पत्रकार महासंघ दोलखाका अध्यक्ष चौलागाईमाथि आर्थिक अनियमितताको आरोप


१४ श्रावण २०८०, आइतबार  

276
Shares

चरिकोट । नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको अध्यक्ष दिपशंकर चौलागाईले आर्थिक अनियमितता गरेको भन्दै प्रेस चौतारी नेपाल दोलखाले ज्ञापनपत्र बुझाएको छ ।
चौलागाईले महासंघ अध्यक्ष पदको चरम दुरुपयोग गर्दै आर्थिक हिनामिना गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

महासंघ नेतृत्वले गरेको आर्थिक अनियमिततालगायत अवाञ्छित गतिविधि रोक्न माग गर्दै आईतबार प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल लगायतको टोलीले महासंघका अध्यक्ष दिपशंकर चौलागाईलाई ज्ञापनपत्र बुझाएको हो ।
गतवर्ष पत्रकार महासंघ बागमती प्रदेश समितिको जिरीमा सम्पन्न साधारणसभामा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा संकलित आर्थिक श्रोतको संस्थागत अभिलेख नराखी हिसाब सार्वजनिक नगरेको, पत्रकार महासंघको नाम जोडेर महासंघको बदनाम हुनेगरी अध्यक्ष चौलागाईले विभिन्न सार्वजनिक निकायबाट व्यक्तिगत रुपमा लाभ लिएको विषयमा पारदर्शी रुपमा हिसाब किताब सार्वजनिक गर्न प्रेस चौतारीले माग गरेको छ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय दोलखामा सञ्चालित सहायता कक्षबाट भएको आम्दानीको अनियमितता गरेको, कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा पत्रकार महासंघको लोगो, व्यानर र बैंक खाता दुरुपयोग गरी भएको आम्दानी राजनीतिक रुपमा भागबण्डा गरेको, सरकारी तलब खाने शिक्षक रहेका अध्यक्ष चौलागाई विद्यालय समयमा विभिन्न कार्यक्रममा उपस्थित हुने र विद्यालयमा समेत हाजिरी गरी गैरजिम्मेवार बनेको विषयमा प्रेस चौतारीले गम्भिर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
कार्यालयमा गैरकानुनी रुपमा कर्मचारी नियुक्त गरी घरेलु कामदारको रुपमा अध्यक्षले निजी काममा लगाएको, कार्यालय समयमा पनि महासंघको कार्यालय खुल्ला नराखेको, कार्यालयमा रहनुपर्ने कागजातहरु निजी सम्पत्तिझैं अध्यक्षको घरमा राख्ने गरेको, कार्यालय व्यवस्थित नगरिएको लगायतका विषयमा १६ बुँदे ज्ञापनपत्र बुझाईएको छ ।
ज्ञापनपत्रमा उल्लेखित विषयमा तीन दिनभित्र यथार्थ विवरणसहितको हिसाबकिताब सार्वजनिक नगरे कानुनी कारबाहीसहित कार्यालयमा तालाबन्दीदेखि कडा भन्दा कडा आन्दोलन गर्ने प्रेस चौतारी दोलखाले चेतावनी दिएको छ ।

ज्ञापनपत्र बुझ्दै महांघका अध्यक्ष चौलागाईले प्रेस चौतारीले उठाएका विषयमा कार्यसमितिको बैठक बसेर निष्कर्षमा पुग्ने बताउनुभएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ३ : ३५ बजे