चरिकोट । भीमेश्वर नगरपालिका वडा नं. २, सोक्ला भ्यालीमा प्रथम पटक राष्ट्रिय धान दिवस मनाइएको छ । सोक्ला खेलाप कृषि तथा पशुपालन समूह र सोक्लाश्वरी पर्यटन विकास समाजको आयोजनामा असार १५ गते धान दिवस मनाइएको हो ।
भीमेश्वर नगरपालिकाको उप प्रमुख कमला वस्नेतको प्रमुख आतिथ्यता र कृषि शाखाका प्रमुख विष्णु चौलागाईको विशेष अतिथिमा धान दिवस मनाइएको कृषि समूहले जनाएको छ ।
२०औं राष्ट्रिय धान दिवस २०८० को नारा ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ रहेको थियो । सोक्लामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाको आर्थीक सहयोग रहेको थियो ।
उप प्रमुख कमला बस्नेतले सोक्ला भ्याली कृषि उर्वर भूमि भएकाले यहाँ उन्नत जातका अन्नबाली उत्पादनमा किसानको ध्यान जानुपर्ने बताईन ।
‘सोक्ला भ्यालीलाई फलफूल पकेट क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । यहाँको जनजीवन र आर्थीक स्तर उन्नतीका लागि कृषि समूहले अर्गानिक फलफूल उत्पादनमा जोड दिनु पर्छ,’ उप प्रमुख बस्नेतले भनिन्,‘यहाँको कृषि समस्या समाधनका लागि नगरपालिकाले सहयोग गर्न तयार छ । तपाईहरुले प्रविधिमैत्री र उत्पादनमा जोड दिनुहोस्।’

यहाँको सिचाई र बाटोको स्तरउन्नतीका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने समेत उप प्रमुख बस्नेतले बताइन ।
कार्यक्रममा भीमेश्वर नगरका कृषि शाखाका प्रमुख विष्णु चौलागाइले सोक्ला भ्यालीको विकास र समृद्धिका लागी कृषि क्षेत्रमा नै जोड दिनु पर्ने धारणा राखे ।
कार्यक्रम सोक्ला खेलाप कृषि समूहका अध्यक्ष सन्त बहादुर थामीको सभाध्यतामा भएको थियो । कार्यक्रमममा भीमेश्वर नगरपालिकाको महिला बालिका मंगला मान्नधर, पशु सेवा शाखा प्रमुख रमिला घिसिङ, मनुका घिमिरे, लगाएतको सहभागीता रहेको थियो ।
स्थानीय कालु थामीको खेतमा रोपाँइ गरिएको थियो । कार्यक्रममा भीनपा ५ की महिला समूहले पन्चै बाजा (बेठी) प्रस्तुत गरेका थिए ।


























