११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

सोक्ला भ्यालीमा धान दिवस मनाउने, यस्तो छ तयारी


१ असार २०८०, शुक्रबार  

298
Shares

चरिकोट । भीमेश्वर नगरपालिका वडा नं. २ सोक्ला–खेलाप भ्यालीमा धान दिवस मनाउने भएको छ । सोक्ला खेलाप कृषि तथा पशुपालन समूहको आज बसेको बैठकले यो वर्षको धान दिवस भव्य रुपमा मनाउने निर्णय गरेको हो ।

कृषि समूहका अध्यक्ष सन्त बहादुर थामीको संयोजकत्वमा धान दिवस मनाउने समिति बनाईएको छ । सो दिन सोक्ला भ्यालीमा कुनै पनि स्थानीयले रोपाई नराख्ने र सबैले धान दिवसमा सहभागी हुने बैठकको निर्णय रहेको सचिव बल बहादुर थामीले जानकारी दिए ।

धान दिवसमा पञ्चै बाजा, स्थानीय लोक भाका, संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम समेत हुने छ । सोक्ला पर्यटन विकास समाजको संयोजन र भीमेश्वर नगरपालिकाको सहकार्यमा धान दिवस भव्य रुपमा मनाउने तयारी भएको कृषि समूहले जनाएको छ ।

यस कार्यक्रमले सोक्ला भ्यालीको प्रवद्र्धन, कृषि पर्यटन, डिलढुंगा, चक्पा, बस्नेत टोल, सोक्ला खेलाप, फूलपा, डाँडागाउँ, नेगल ग्रामिण सडकको गुणस्तरमा सहयोग पुग्ने लक्ष्य लिएको छ ।

भीनपा २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, भीमेश्वर नगरपालिकाको मेयर ईश्वर नारायण मान्नधर, उप प्रमुख कमला बस्नेत, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, जिल्ला प्रहरी कार्यालयको साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिने सोक्लाश्वरी पर्यटन विकास समाजले जनाएको छ ।

सो कार्यक्रममा स्थानीय परिकार, कोदोको छ्याङ, जिर्मा, दहि चिउरा, आलुको परिकारसहितको स्वाद लिन सकिने छ ।

सोक्ला खेलाप कृषि तथा पशुपालन समूहका संस्थापक राम बहादुर तामाङ हुन् । यस समूहको नियमित बैठक प्रत्येक महिनाको २ गते हुने गरिएता पनि असारमा भने १ गते नै बसेको हो । बैठकमा हरेक सदस्यहरुले मासिक एक सय रुपैँया उठाउने र आन्तरिक रुपमा न्यूनतम व्याजमा सो रकम चलाउने गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : ४४ बजे