दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–६ पाटीखोलामा सञ्चालनमा रहेको च्छोरोल्पा जनरल अस्पताल प्रालि चरीकोटले च्छोरोल्पा ट्रमा युनिट सञ्चालन गरेको छ ।
जिल्लामा नै पहिलो पटक सुरु गरिएको यो ट्रमा युनिटबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सुरेश थापा सहितको टोलीले सेवा प्रवाह गर्ने अस्पताल प्रमुख डा. विनोद दङगालले जानकारी दिनु भयो ।
उहाँका अनुसार च्छोरोल्पा ट्रमा युनिटबाट हाड जोर्नी सम्बन्धी सामान्य तथा जटिल प्रकृतिका शल्यक्रिया, हाडमा राखिएको पाता वा तार निकाल्ने सुविधा, जोर्नीमा सुई लगाउने, भाँचिएको ठाउँमा प्लास्टर लगाउने ,तन्तु वा नसाहरु रिपियर गर्ने,गाडी दुर्घटना ,प्रकृति प्रकोप वा घरेलु हिंसाबाट प्रभावित भइ लागेको चोट पटकको उपचारलगायत सम्पूर्ण समस्याको सहज तरिकाले उपचार गरिनेछ ।
अस्पतालले सेवाग्राहीको आवश्यकतालाई मध्यजनर गर्दै विभिन्न रोगको विशेषज्ञ सेवा थप गर्ने लक्ष्य राखेको अस्पतालका अध्यक्ष पृथ्वीबहादुर श्रेष्ठको भनाइ रहेको छ ।
च्छोरोल्पा ट्रमा युनिट उद्घाटन कार्यक्रममा अस्पतालका अध्यक्ष पृथ्वी बहादुर श्रेष्ठ, दोलखा प्रहरी प्रमुख दिपक खड्का, नेपाल वार एशोसिएसन दोलखाका अध्यक्ष कृष्णबहादुर बस्नेत ,नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रृजनकुमार घिमिरे,हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सुरेशबहादुर थापालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अवसरमा इन्डोस्कोपी विशेषज्ञ डाक्टर रोमी दहालबाट २० जनाले इन्डोस्कोपी सेवा लिनु भएको थियो ।