बाबुराम शर्मा
दोलखाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकाहरु समुदायमा पहिलो चिकित्सको रुपमा स्थापित भइसकेका छन् । उनीहरु बिरामी भएपछि उपचार होइन, बिरामी हुनै नदिनका लागि हरेक घरआँगनमा पुगेर स्वास्थ्य सुरक्षा कवच बनिरहेका छन् ।
महिला स्वास्थ्य स्वयमसेविकाहरुसँग कुनै विश्व विद्यालयको प्रमाणपत्र त छैन तर अनुभवले खारिएका छन् । उनीहरु समुदायलाई विश्वविद्यालय ठान्छन् । योगदान गरेबापत सरकारबाट त्यत्ति खुसी त छैनन् तर पनि रातोदिन समुदायमा खट्न उनीहरु रुचाउँछन् ।
समुदायको स्वास्थ्य सेवाले सरकारलाई पनि टेवा पुगेको र समृद्धितिर लम्किन केही सहयोग पुगेकाले आर्थिक खुसी नभए पनि मानसिक खुसी हुने गरेको पचास वसन्त पार गर्नु भएकी दोलखाको शैलुङ गाउँपालिका–५ मा कार्यरत महिला स्वास्थ्य स्वयमसेवीका दुर्गा खडकाको भनाइ रहेको छ ।
उहाँमा अहिले पनि आप्mनो गरिआएको काममा जवानीकै जोशजाँगर रहेको छ । अरु जागिरका समेत बेवास्ता गरी १८ वर्षको उमेरदेखि गरिआएको जोशजाँगरले अझै काम गरिरहने बताउँदै उहाँले भन्नु भयो, नमरुन्जेल सकून्जेल यो सेवाको काम छोडदिनँ । गाउँ गाउँमा पुगेर महिला तथा बालबालिकालाई स्वास्थ्य सेवा दिन पाउँदा गौरव लाग्छ । पहिले त के काम थालेछु जस्तो लाग्थ्यो अहिले त उत्सुकता जागेर आउँछ ।
चिकित्सकको पहुँच नभएका स्थानहरुमा महिला स्वास्थ्य स्वयंसेविका नै चिकित्सक भएर काम गरिहेका छन् । खास गरी समुदायमा रहेका प्रत्येक गर्भवती महिलादेखि सुत्केरी मातृ शिशुको स्याहार सुसार तथा पोषण, खोप कार्यक्रम आदिको बारेमा जनचेतना फैलाउने कार्यक्रमदेखि परिवारको सन्तान सम्बन्धी पारिवारिक योजना बनाउनको निमित्त समेत महत्वपूर्ण भूमिका उनीहरुले निर्वाह गर्दै आइरहेका छन् ।
दोलखाको शैलुङ गाउँपालिका–५ काटाकुटी स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका भनेको यस वडाभित्र रहेका प्रत्येक टोल बस्तीका पहिलो चिकित्सक हुन् भनेर समुदायमा चिरपरिचित भइसकेका वडाध्यक्ष दिलकुमकार तमाङले बताउनु भयो ।
स्वास्थ्य घर , स्वास्थ्य टोल, स्वास्थ्य समाज र स्वास्थ्य वडा निर्माणको निमित्त अहोरात्र लागिरहने स्वास्थ्य स्वयंसेविका नै समाजको पहिलो चिकित्सक साबित भएका छन् । उनीहरुले गर्भवती, बालबच्चा, किशोर किशोरी तथा बुढा बुढीहरुलाई स्वास्थ्यको बारेमा हर्दम सचेत गराइरहेका छन् भने सामान्य प्राथमिक उपचारका औषधिहरु दिँदै स्वास्थ्य संस्थामा गएर आफ्नो स्वास्थ्य उपचार गर्नको निमित्त सल्लाह सुझाब पनि दिइरहेका छन् । टोल बस्तीमा रहेका हरेक उमेरसमूहका व्यक्तिहरुको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी यहाँका १५ जना महिला स्वयंसेविकाहरुले निःस्वार्थ सेवा दिँदैआइरहेका छन् ।
भीमेश्वर नगरपालिकामा ११४, बिगु गाउँपालिकामा १३१, जिरी नगरपालिकामा १०२, गौरीशङकर गाउँपालिकामा १३४,सैलुङ गाउँपालिकामा १५१, तामाकोसी गाउँपालिकामा १४०, वैतेश्वर गाउँपालिकामा १५०, गौरीशङकर र मेलुङ गाउँपालिकामा १६५÷१६५ गरी जिल्लामा कुल एक हजार २५२ जना स्वास्थ्य स्वयमसेविका रहेका छन् ।
सरकारको ६० वर्षे अवकाश नीति नियम भए पनि आमा समूहको हटाउने सिफारिस नआएसम्म हटाउन सकिँदैन । उनीहरु आमा समूहकै सिफारिसमा नियुक्त भएका हुन्छन् । अरु नियम कानुन लागू हुँदैन ।
भीमेश्वर नगरपालिका स्वास्थ्य शाखा संयोजक श्यामबहादुर खडकाले जबरजस्ती गर्न नपाइने जानकारी दिँद्रै भन्नु भयो, नियुक्ति पाएपछि उनीहरुले २४ दिने यस सम्बन्धी तालिम लिनु पर्छ । उनीहरुलाई प्रोत्साहन स्वरुप एक मुस्ट संघबाट वार्षिक १० हजार पोसाक भत्ता,प्रदेसबाट साढे दुई हजार,छ हजार यातायात खर्च, तालिम गोष्टी तथा राष्ट्रिय कार्यक्रमा खटेवापत दैनिक चार सय रुपियाँ भत्ता पाउने गर्दछन् । प्रत्येक महिनाको २८ गते उनीहरुले गरेका कामको प्रतिवेदन बुझाउनु पर्दछ ।
तालिममा सरिक भएका शैलुङ गाउँपालिका–५ काटाकुटी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यस्वयसेविकाहरु ।