१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

[भीमेश्वर नगरमा बेथिति-२]: भानु विद्यापतिकी सहयोगी सरस्वतीलाई वडाको कम्प्युटर अप्रेटर


१२ बैशाख २०८०, मंगलबार  

1.1k
Shares

चरिकोट । भानु विद्यापति साहित्य प्रतिष्ठानको कार्यालय सहयोगी सरस्वती थापालाई भीनपा–६ को सहायक कम्प्युटर अप्रेटरमा नियुक्त गरिएको तथ्य बाहिर आएको छ । कार्यालय सहयोगीलाई कस्ले किन, के का लागि वडा कार्यालयको कम्प्युटर अप्रेटरमा नियुक्त गरियो प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठ आफै बेखबर छन् ।

‘हामीले उहाँलाई प्रतिष्ठानको सिमपानी हल र बाटिका सरसफाईसँगै ताला चाबी लगाउन नियुक्त गरेका थियौं,’अध्यक्ष श्रेष्ठले भने,‘कस्ले किन वडा कार्यालयको कम्प्युटर अप्रेटर बनायो जानकारी छैन । प्रतिष्ठानमा मासिक ६ हजार रुपैँया पारीश्रमिक दिने निर्णय अनुसार सरस्वती जीलाई राखिएको हो । यो विषय नगरपालिकाको कर्मचारी तथा प्रतिष्ठानको सचिव सुन्दर खड्का जीलाई धेरै जानकारी हुन सक्छ ।’

भीनपा ६, का वडा अध्यक्ष नविन लामा पनि यो विषयमा अनविज्ञ नै छन् । वडामा कर्मचारी अभाव रहेको तर भानु विद्यापतिका कर्मचारी पठाउन नगरपालिकालाई पत्रचार भने नगरेको वडा अध्यक्ष लामाको स्पष्ट भनाई छ ।

‘मैले बुझे अनुसार केही समयका लागि भनिएको छ । तर, के कसरी पठाइएको हो, मलाई डिटेल जानकारी छैन । अहिले कम्प्युटरमा काम गरीरहेको छ,’ वडा अध्यक्ष लामाले भने,‘यो विषयमा तथ्यगत जानकारी मलाई पनि छैन।’
भीमेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिशीर पौडेलले यो विषयमा आफूलाई भन्दा बढि जगदिश अर्याललाई जानकारी भएको बताए । कम्प्युटर अप्रेटरको रुपमा काम सिकोस भनेर वडा ६ मा सरस्वती जीलाई पठाइएको अधिकृत पौडलेको भनाई छ ।

भानु विद्यापति प्रतिष्ठानका सचिव तथा नगरपालिका शिक्षा शाखाका कर्मचारी सुन्दर खड्काले सरस्वती थापालाई प्रारम्भिक चरण्मा ६ हजार रुपैँया पारिश्रमिक दिएर करारामा नियुक्त गरिएको बताए । सहज कर्ताको रुपमा सिमपानी हलको रेखदेख गर्ने, साँचो ताला चाबी लगाउने भनेर नियुक्त गरिएको हो ।
अहिले यत्ता काम नभएपछि वडा ६ मा नगरपालिकाले नै पठाएको उनको दावी छ ।

कस्ले लेख्यो टिप्पणी ?

भानु विद्यापति साहित्य प्रतिष्ठानको कर्मचारीलाई वडा ६ को कम्प्युटर अप्रेटरको रुपमा लैजाने विषयमा कस्ले, कहाँ, कसरी टिप्पणी उठायो भन्ने प्रमाण लुकाइएको छ ।

यसरी टिप्पणी लुकाउनुमा नगरपालिकाकै कर्मचारीहरुको मुख्य भूमिका रहेको स्रोतले बताए । जबकी कम्युटर अप्रेटरमा कर्मचारी पठाउने टिप्पणी प्रशासन शाखामा रहन्छ । यहाँ कुनै पनि प्रमाण नरहेको प्रशासन शाखाले जनाएको छ ।

टिप्पणीमा क कस्को हस्ताक्षर

ई भवेन्द्र थापाको श्रीमति सरस्वती थापाको विषयमा टिप्पणी कस्ले लेख्यो भन्ने विषय कर्मचारीबीचमा नै चर्चाको विषय बनेको छ । स्रोतका अनुसार ईं भवेन्द्र थापा आफैले टिप्पणी उठाएर सिधै प्रमुख प्रशासकीय अधिकृतलाई दस्तखत गर्न लगाएको बुझिन्छ ।

उक्त टिप्पणी प्रशासनमा हुनु पर्नेमा लेखाशाखा प्रमुखको दराजमा रहेको स्रोतले बताएको छ ।

उक्त टिप्पणीमा भानु विद्यापति प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठको हस्ताक्षर समेत हुनुपर्छ । तर, आफूलाई केही जानकारी नभएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

ई. भवेन्द्र थापाको चलाखी

नगरपालिकाको ईन्जीनियर हुन, भवेन्द्र थापा । उनकै श्रीमती हुन, सरस्वती थापा। भवेन्द्र ईन्जिनियर भएकै कारण श्रीमतीले भानु विद्यापतिमा अवसर पाएकी हुन् ।

भीमेश्वर नगरपालिकाले कर्मचारी आवश्यकताको सूचना प्रकाशनपछि अन्तर्वाता दिएर सरस्वती कर्मचारी भएकी होइन ।सिधा भाषामा ई थापाले श्रीमतिलाई जागिरमा लगाएका हुन् । प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र केही उच्च कर्मचारीको सेटिङमा थापाले श्रीमतिलाई वडा ६ को कम्प्युटर अप्रेटरमा जागिर लगाएको स्रोतले बताएको छ ।

यो विषयमा ई भवेन्द्र थापा भन्छन,‘नगरपालिकाको निर्णयपछि प्रशासनले चिठी पठाएको हो । वडा ६ को कार्यालयमा सरस्वतीले हाजिर गरेका हुन् । टिप्पणी मैले उठाएको होइन । उनलाई भानु विद्यापतिबाट वडा ६ मा सारिएको मात्रै हो । खास कुरा चै यो, हो । मैले, प्रमुख प्रशासकीय अधिकृतिलाई कुनै प्रलोभनमा पारेको छैन । (फोन संवाद, अडियो सुरक्षित)

चौथो तह-३२ हजार तलब

नगरपालिकाका लेखा शाखा प्रमुख जगदिश अर्यालका अनुसार भानु विद्यापति साहित्य प्रतिष्ठानमा हुँदा ६ हजार पारीश्रमिक बुझने गरेका थिए । तर, अहिले उनले ३२ हजार ९ सय पारीश्रमिक लिने गरेका छन् । उनले केही समय अघि १५ हजार रुपैँया पारीश्रमिक बुझने गरेको प्रशासनकै एक कर्मचारी बताउँछन् ।

भानु विद्या प्रतिष्ठान संस्कृती ऐन अन्तर्गत २०७४ मा निर्वाचित जनप्रतिनिधले स्थापना गरिएको हो ।

शुसानका लागि खोज पत्रकारीता श्रृखला २-क्रमश….

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ३ : ५३ बजे