चरिकोट । मेलुङ गाउँपालिकाले शैक्षिक सत्र २०७८ मा उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरेको छ । एक कार्यक्रमकाबीच सम्मान गरिएको हो ।
मेलुङ गाउँपालिकाले वार्षिक बजेट अनुसार परिक्षामा उत्कृष्ट अंक ल्याउने २० जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको हो ।
मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकरका अनुसार सामुदायिक विद्यालयबाट कक्षा ८, एसईई र कक्षा १२ को परीक्षामा ३ दशमलव २० जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको हो । आजादी मावि, भीम मावि, भुमेस्थान मावि, कालिका मावि, सत्यश्वर मावि लगायतका विद्यार्थी सम्मानित भएका हुन् ।
कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने १२ जना, एसईईमा उत्कृष्ट अंक ल्याउने ७ जना र कक्षा १२ बाट उत्कृष्ट अंक प्राप्त गरी उत्तिर्ण एक जनालाई पुरस्कार सहित सम्मानित गरिएको पालिकाले जनाएको छ ।
कक्षा ८ का १२ जना छात्र–छात्रालाई प्रति विद्यार्थी १० हजार, एसईइमा उत्कृष्ट अंक ल्याउने ७ जना छात्र–छात्रालाई प्रति विद्यार्थी २५ हजार र कक्षा १२ का एक जना छात्रालाई २५ हजार नगद र मायाको चिनो सहित सम्मानपत्र प्रदान गरिएको छ ।
तीमध्य पनि मेलुङ गाउँपालिकाभरकै विद्यालयबाट आधारभूत तह कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने सत्यश्वर माबिकी कौसिला उप्रेतीले थप नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेकी छिन् भने एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने आजादी माविकी ममता खड्कालाई पनि थप १० हजार सहित प्रमाणपत्र उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । यस कार्यक्रमका लागि ५ लाख बजेट व्यवस्था गरिएको थियो ।