बाबुराम शर्मा
सदरमुकाम चरीकोट स्थितको भीमेश्वर नगरपालिकाले प्राथमिकताका साथ स्वास्थ्यलाई पर्यटनसँग जोडेर अघि बढ्न लागेको छ ।
दोलखावासीलाई नै स्वास्थ्य सेवा प्रदान गरी सुनसान बन्न लागेको नगरलाई चहलपहलमय गराउन पर्यटनलाई पनि सँगसँगै लगिने कार्यक्रम ल्याउन लागिएको नगरप्रमुख ईश्वरनारायण मानन्धरले बताउनु भयो ।
उहाँका अनुसार संविधान प्रदत्त मौलिक अधिकारको रुपमा रहेको स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरु थप गर्न लागिएको छ । जिल्लामा प्रादेसिक अस्पताल सञ्चालनमा रहेको छ । नगरमा आयुर्वद स्वास्थ्य केन्द्र मात्र रहेको छ । आयुर्वेद पद्धतिलाई उत्तिकै प्राथमिकता दिन आयुर्वेद अस्पताल सञ्चालन गर्न पनि लागिएको छ । दिनपरदिन आँखाको समस्या पनि उत्तिकै देखिन थालेकाले आँखा अस्पताल पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
वागमती प्रदेसले ५० शय्याको पशुपति चौलागाईँ स्मृति अस्पताल सञ्चालन गरिरहेको छ । नगरप्रमुख मानन्धरले भन्नु भयो, यसलाई सुविधा सम्पन्न बनाउन आवश्यक भवनहरु पनि निर्माण भइरहेका छन् । संरचना तयार भएपछि शय्या वृद्धि हुँदै जाने छ । विशेषज्ञमार्फत विशेष सेवा प्रदान गर्दै यहीँबाटै जटिलखाले सेवा पनि प्रदान गरिने लक्ष्य राखिएको छ । आगामी असोज महिनादेखि किडनी डायलसिस,आइसियुलगायतका सेवा प्रदान गरिने छन् । यो ठाउँ पशुपतिको जात्रा सिद्राको व्यावपार भने झै पर्यटकीय स्थल बन्ने छ ।
संघले आयुर्वे अस्पताल स्थापनामा सहयोग गर्न लागेको छ । अस्पतललाई आवश्यक पर्ने जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढिसकेको छ । यसले यहाँ रहेका जडिबुटीको प्रयोग गर्ने छ । अस्पताल सञ्चालनमा आएपछि पर्यटकीय चहलपहल बढ्ने अपेक्षा राखिएको उहाँले जानकारी दिनु भयो ।
जिल्लाबाटै सबै प्रकारका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य अनुरुप आँखा अस्पताल पनि सञ्चालनमा ल्याउन लागिएको छ । उहाँले भन्नु भयो, यसका लागि पनि जग्गा उपलब्ध भएको छ । तीलगङगा आँखा अस्पतालले यो आँखा अस्पताल निर्माण तथा सञ्चालन गर्ने सहमति पनि भएको छ । सबैखाले र विशेषज्ञ सेवा प्रदान हुँदा नगर चलायमान हुने छ । शिक्षा, कृषिलगायतलाई पनि पर्यटनसँग जोडेर अघि बढाइने लक्ष्य राखिएको छ ।
स्वास्थ्यसँगै जोडिएको सरसफाइलाई पनि अघि बढाइएको छ । सरसफाइ सङकलन केनद्र सञ्चालनमा आइसकेको छ । यसमा प्रशोधन यन्त्र पनि जडान भइरहेका छन् । यहाँ फोहोरबाट मोहोर भन्ने उक्तिलाई सार्थक बनाउन फोहोरबाट मल बनाउन पनि लागिएको छ ।
संघीयता लागू भएपछि स्थानीय सरकारको आवश्यकता र प्रभावकारितामा कसैले औँला ठडयाउन सकेको छैन । बरु यसलाई दैलाको सरकार मानिँदा मर्दाको मलामी र जिउँदाको साथी भनिने गरिएको छ । उहाँले भन्नु भयो, भीमेश्वरको समृद्धिका लागि अघि बढ्दा प्रदेसले स्थानीय तहलाई सकस मात्र दिएको छ । संघ र प्रदेसले समन्वय नै नगरिदिँदा सोचेको काम गर्न सकिएको छैन । काममा सजिलोपना आउनुको सट्टा बाधा अचन मात्र सिर्जना हुन पुगेको छ ।