चरिकोट । प्राचिन तथा साँस्कृतिक बजार दोलखामा रातो मच्छिन्द्रनाथको रथ यात्रा आजदेखि शुरु भएको छ । रथ तान्ने जात्राको विधि भने चैत्र २३ गतेदेखि शुरु भएको हो ।
चैत्र २३ गते दुधमा स्नान गराएर यो जात्रा शुरु हुने धार्मिक किवदन्ती छ । यसपछि हिजो अर्थात चैत्र २४ गते पिङगल टोलमा रहेको रथमा रातोमच्छिन्द्र नाथको मुर्ती राख्ने परम्परा छ । यसपछि मात्रै भोलिपल्ट अर्थात आजबाट रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुने गरिन्छ ।
आज पहिलो दिन पिङगलटोबाट नक्छेसम्म रथ तान्ने गरीन्छ । २६ गते नक्छेबाट श्यामसन्दुर टोलसम्म लगिन्छ । २७ गते टँसिचा हुँदै २८ गते माथिल्लो टोलमा रथ तानेर लैजाने परम्परा छ । सो दिन उकालो बाटो भएका कारण ३६० डिग्रीमा रथ तानिन्छ । यसकारण यो दिन विशेष हुने गरेको छ ।
२९ गते माथिल्लो टोलबाट दुङगल ल्याउने गरिन्छ । चैत्र ३० गते दुङगलबाट पुनः पिङगलसम्म रथ तान्ने गरीन्छ । अन्तिम दिन वैशाख १ गते पुनः पिङगलबाट डाकलुङगा टोलमा भित्र्याउने परम्परा छ ।
टोल टोलमा मच्छिन्द्रनाथ पुग्ने भएपछि स्थानीयहरुले घर आँगनमा नै पूजा गर्ने परम्परा छ ।
२०२९ मा मच्छेन्द्रनाथको मुर्ति चोरी
विं.सं २०२९ मच्छेन्द्रनाथको सालमा रथ यात्रा समाप्त भएपछी केहि दिनमा मच्छेन्द्रनाथको मुर्ति चोरी भयो । भनिन्छ, चोरले मुर्ति लुकाई बार्हबिसे सम्म पुर्याई ( त्यो बेला पैदल) बस चढे पछी बस स्टार्ट भएन । निकै समयसम्म बस स्टार्ट नभएपछी चोरले डराइ मूर्ति भएको झोला फिर्ता गरि दोलखाको बजार तलतिरको बगैचामा फाली दिएको एथेष्ट प्रमाण छन् ।
एउटी सानी बच्चीलाई जाउ त नानि त्यहाँ खेलौना पुतली छ भनि फकाएछ । नभन्दै ती बच्चाले पुतली पाए भनि लिई आउँदा मच्छिन्द्रनाथको मूर्ति ठहरीयो ।
शकास्पद चोर पक्राउ पनि पर्यो । तर दसी प्रमाण भन्दा पनि मूर्ति भेटिएकाले भइ हाल्यो भन्ने भयो । मूर्ति पाउने बच्ची समाजसेवी सकुना श्रेष्ठ मलेकुलाई शुभ भएको मान्नेहरु धेरै छन् । यो चोरीको घटना पछी मछिन्द्रनाथको मूर्तिलाई जात्रा भर निकालिने र अरु बेला बिशेष सुरक्षाका साथ राखिने गरिन्छ ।
मच्छिन्द्रनाथको जात्रा १४ वर्ष बन्द
२०४१ साल चैत्र र २०४२ साल बैशाखको मच्छिन्द्रनाथको जात्रा सम्पन्न भए पछी मछिन्द्रनाथ गुठीका जग्गा कमाउने थामिहरुले रथ बनाउन आउन छाडेपछी हरेक साल पांग्रा र धर्मासी बनाउन कठिन आदि कारण देखाई गुठीयारहरु निस्क्रिय र जिम्मेवारबाट पन्छिए पछी रथ यात्रा १४ वर्ष सम्म बन्द भयो । खालि बिधि पुर्याउन १४ वर्षसम्म खटमा राखी शहर परिक्रमा गराउन थालियो । यस्तो ब्यथिति र सस्कृतिमा ठाडो अपमान भएको १४ वर्षा पछी २०५५ सालमा कालिन्चोक युवा क्लबका अध्यक्ष दोलखा प्रति माया गर्ने सस्कृति प्रेमी प्रकाश श्रेष्ठको पहलमा २०५५ साल देखि पुन दोलखाको सान मान सहित मछिन्द्रनाथको रथ जात्रा संचालनमा आयो ।
हरेक बर्ष क्लबकै पहलमा मछिन्द्रनाथको जात्रा हुन थाल्यो । उपत्यका खास गरि पाटनका शाक्य र बज्राचार्यहरुले पनि दोलखा बुग्देउ मछिन्द्रनाथको दर्शन गरि रथ तान्न पुग्न थाले ।
नेस ६९४ मा काठमाडौँ ओमबहालका भिक्षु स्वर्ण प्रभामंडल र स्वर्ण चतरी चढाएको अभिलेख छ । पाटनका समाजसेवी पन्चराज शाक्यको बाल्यकाल दोलखामा बितेको थियो । त्यसैले पंचराजा र उहाँका छोरा बिन्दुराज शाक्यको सक्रियतामा दोलखाको मछिन्द्रनाथ रथको वरिपरी पित्तल्ले सजाई धर्मासिको अघिल्तिर भैरवको मूर्ति चडाएका थिए । साथै मछिन्द्रनाथको प्रतिरुप ३ फिटको बनाईसंग संगै जात्रा मनाउने उपक्रम शुरु भयो । यो सबै कामको समन्वयन कालिन्चोक युवा क्लबका तत्कालिन अध्यक्ष गोपाल प्रधानको पहलमा भएको थियो ।
नयाँ मछिन्द्रनाथको प्रतिरुप २०६५ चैत्र २८ गते राखिएको थियो । बर्षे पिच्छे जात्राको अवसरमा सयौ भक्तजन दोलखा गई रथ जात्राको शोभा बढाइदिन रास्निको उकालोमा रथ तान्न जनशक्ति भइ दिने गर्न थाले । होस्टेमा हैसे गर्न प्रशस्त भए ।
मच्छिन्द्रनाथ महोत्सव
२०७३ सालको चैत्र २१ गते देखि २९ गतेसम्म दोलखा गुठीका अध्यक्ष माधवमणि राजभण्डारीको सक्रियतामा मच्छिन्द्रनाथ महोत्सव सम्पन्न भयो । कालिन्चोक युवा क्लबले जन सहयोग जुटाई मछिन्द्रनाथ रथको चारवटै पांग्रा नयाँ बनायो । जुन अहिलेसम्म पनि मजबुद छ ।
उक्त काम अध्यक्ष निरेन्द्र मास्केको पहलमा भएको थियो । धार्मिक, ऐतिहासिक र साँस्कृतिक महत्व बोकेको मछेन्द्रनाथ रथ जात्रा कालिन्चोक युवा क्लबले १४ बर्ष देखि रोकिएको रथ जात्रा पुन संचालन गरि नियमित रुपमा सबैको साथ सहयोग जुटाई आएकोमा क्लबका पदाकारीहरु धन्यवादको पात्र हुन् । यसै गरि दोलखा मछिन्द्रनाथको महत्व र प्रसिद्धि पाटन निवासी पन्चराज शाक्य र उहाँका सुपुत्र बिन्दुराज शाक्य पनि धन्य छन् ।
दोलखा मछिन्द्रनाथ जात्रा भरि चाकु पिटी बनाइएको चाकुको परिकार चाक्सल मिठाई बनाइ बिक्रि गर्ने चलन अहिलेसम्म रहदै आएको छ ।
राजा नन्ददेव सिहले नेस ६३९ बैशाख सुदी १७ गते
भनिन्छ , राजा नरेन्द्रदवको पालामा लामो समय वर्षा नभएर नेपाल राज्यमा खडेरी परेको थियो । किन यस्तो भयो भनि ज्योतिषीलाई देखाउँदा गोरखनाथ बाबा भिक्षा टन गर्दै आउँदा कसैले पनि भिक्षा नदिएको रिसले सम्पूर्ण नागहरु आफनो मुनि राखी ध्यान गर्न बसेछन् । गोरखनाथलाई ध्यानबाट जगाउन गोरखनाथको गुरु मछेन्द्रनाथलाई नेपाल ल्याउनु पर्ने आवस्यकता देखियो, त्यसैले राजा नरेन्द्रदेव, आचार्य वन्धुदत्त र ज्यापू ललित तिनै जना मछेन्द्रनाथ , कामरूप आसाम ( भारत ) गए । त्यहाँ तान्त्रिक विधिबाट मछेन्द्रनाथलाई सम्पर्क गरि ललित ज्यापुले बोकेर उपत्यका ल्याएर बुङमतिमा मन्दिर बनाई राखे । मछेन्द्रनाथ प्रवेश भए पछी दर्शन गर्न गोरखनाथ आसन छोडी नागहरु मुक्तछनाले वर्षा भयो । यसरी बर्षाकाल देवता मछेन्द्रनाथको पाटनमा पनि मन्दिर बन्यो र रथ यात्रा गर्न थालियो ।
शैवहरुले बर्षाको देवता लोकनाथ करुणामय आदि लोकेष्वर बुद्ध धर्मालम्बीहरुले वोधिसत्व अबलोकितेश्वर भनि पूजा आजा गरिने ललितपुरको रातो मच्छेन्द्रनाथ वा मच्छेन्द्रनाथ दोलखा राजा नन्ददेव सिहले नेस ६३९ बैशाख सुदी १७ गते शुक्लापक्ष त्रयोदसी सोमबार महागुरु देव बज्राचार्य द्वारा बोलिबन्द सानी कन्याबाट बुंगमतिको मच्छेन्द्रनाथलााई दोलखाको लागि मच्छेन्द्रनाथ ल्याएर डोकलुङगा टोलमा निवास बनाई राखेर जात्रा आरम्भ गरेको ताम्रपत्र भएको एक पुजारी पुस्परत्न बज्राचार्य बताउनु हुन्थ्यो । पछी दोलखाका राजा बासुदेबले मच्छेन्द्रनाथको रथ बनाउनका लाागि लापिलांगका थामीहरुलाई जग्गा दिई गुठि राखी दिएका थिए । त्यहाँका थामीहरू हरेक साल दोलखा आई मच्छेन्द्रनाथको रथ बनाउन बास चोया डोरी बनमालाले सजाउने ब्यबस्थाका साथै रथको लागि पांग्रा , बिचको धर्मासी आदिको बन्दोबस्त गरिदिन्थे ।