ललितपुर महानगरपालिका १ कुपण्डोल हाइटमा साबिक समिट होटल रहेको स्थानमा समिट रेसिडेन्सीको निर्माण क्रममा जमिन भासिएकोबारे समिट होटलले समस्या समाधानको लागि सरोकार पक्षसँग सहमति भएको बताएको छ।
उसले विज्ञप्ति जारी गर्दै निर्माण कम्पनी, स्थानीयबासी र जनप्रतिनिधिसमेतको रोहवरमा छलफल भई समस्या समाधानको सहमति भएको र सोही सहमतिअनुसार आगामी काम अगाडि बढाइने बताएको हो।
यही चैत २५ गते अपार्टमेन्ट निर्माणको क्रममा पाइल प्रोटेक्सन चलिरहँदा पूर्वदक्षिणतर्फ केही जमिन भासिएको समिट होटल प्रालिका प्रोजेक्ट सञ्चालक सञ्चित श्रेष्ठले बताए।
त्यस्तै यो परियोजनाको नक्सापास नै नभएको कुरा बाहिरिएपछि होटलले यस सन्दर्भमा पनि जानकारी गराएको छ।
श्रेष्ठका अनुसार यो परियोजनाको नक्सासम्बन्धी मामिला काठमाडौं उपत्यका विकास प्राधिकरणले हेर्ने भएकाले सोही कार्यालयबाट अगाडि बढाइएको हो।
नक्सा र वातावरणीय प्रभाव मूल्यांकनसहितको प्रगति विवरण ललितपुर महानगरपालिकामा पेस गरिनेबारे नगरप्रमुख चिरिबाबु महर्जनलाई जानकारी गराइएको उनले बताए।