११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

सांसद ढाकाकुमारको अडिओ प्रकरणमा छानविन गर्न धनराज गुरूङको माग


२७ चैत्र २०७९, सोमबार  

0
Shares

नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणको छानविन गर्न माग गरेका हुन्।

आइतबार सार्वजनिक भएको सांसद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीचको अडिओको विषयमा छानविन गर्न संसदीय समिति बनाउन उनले माग गरेका हुन्।

‘प्रतिनिधि सभा सदस्य भइसकेकाहरूले मन्त्री बन्नकै लागि कुनै एउटा व्यवसायीसँग बडो गफगाफमा लाग्छ। त्यो पारदर्शी ढंगले गफगाफ गरेको देखिन्छ। यो भन्दा लज्जाबोध के हुनसक्छ सभामुख महोदय, अनि सुन्छु मैले- दुधको साक्षी बिरालो बसेको पनि यहीँ सुन्दैछु। यो भन्दा बिडम्बना के हुनसक्छ?,’ उनले भने।

अडिओमा भनिएको कोर टिमलाई बुझाउनुपर्ने रकमबारे पनि छानविन हुनुपर्ने उनले बताए। उक्त छानविनका लागि आजै समिति बनाउन उनले माग गरेका हुन्।

‘त्यसकारण म निवेदन गर्न चाहान्छु। त्यो वार्तामा भनिएको छ कोर टिममा बुझाउनुपर्छ। कोर टिम भनेको को हो? त्यसको पनि छानविन गर्नुपर्दैन?,’ उनले भने, ‘त्यसकारण यसको छानविनका लागि प्रतिनिधि सभा सदस्यले गरेको वार्तालापको सन्दर्भमा भ्रष्टाचारका सन्दर्भमा, कमिशनको सन्दर्भमा यो संसद चुप लागेर बस्न हुँदैन। आजकै दिनमा यही बैठकबाट संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानविन गर्नको लागि माग गर्छु।’

यस्तै उनले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्ने घटनामा ठूला नेताहरूको संलग्नता भएकोले कारबाही गर्न माग गरेका हुन्।

यसमा गृह प्रशासन काप्‍न नहुने पनि उनले बताए।

‘यसमा ठूलै नेताहरूको नाम पनि जोडेर समाचारहरू आएका छन्। अनि ठूलालाई चैन सानालाई ऐन? नत्र होइन भने यसमा जति ठूलो नाम जोडिएपनि गृह प्रशासन काप्न हुँदैन,’ उनले भने, ‘गृह प्रशासनले खुट्टा टेकेर यसमा संलग्न जतिसुकै ठूलो नेता भएपनि कारबाहीको दायरामा ल्याउनै पर्छ। कानुनको कठघरामा ल्याउनै पर्छ।’

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ८ : ३२ बजे