चरिकोट । दोलखा आफैमा पर्यटकीय गन्तव्य हो । दोलखा धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसावले सु-सजित जिल्ला हो ।
जहाँ दोलख भीमेश्वरदेखि गौरीशकर, कालिञ्चोक, शैलुङ हुँदै देउढुंगा जस्तो पवित्र तिर्थस्थल रहेका छन् । देउढुंगाको छुटै महत्व, धार्मिक आस्था र विश्वास छ ।
दोलखा जिल्लाको उत्तरी चीनको सिमानामा करिव ३६ सय मिटर उचाइमा पर्दछ, देउढुङ्गा । जस्लाई सेती देवी भनेर पनि चिनिन्छ ।
मनले चिताएको कुरा पूरा हुने विश्वास रहेको देउढुङ्गा विगु गापा वडा ७ मा पर्दछ ।
रोचक कुरा के छ भने, पहाडको मध्य भागमा ठडिएको यो ढुङ्गा टाढाबाट हेर्दा झ्याल ढोका जस्तो आकृतिमा आकर्षक घर जस्तो देख्न सकिन्छ । कालिञ्चोक भगवतीको दिदीबहिनी भनेर देउढुङ्गालाई भनिने किम्बदन्ती पनि रहेको छ। पर्यटनको सम्भावना बोकेको यस ठाउँको प्रचार प्रसार अझै हुन सकेको छैन ।

यही बाटो भएर बौलाहा पोखरी दर्शन गर्न हरेक वर्ष तिर्थालुहरु जाने गरेका छन् ।
एक दिनमै चीन सम्म पैदल हिडेर पुग्न सकिने यो ठाउँ कुनै बेला खाशा व्यापार गर्ने नाकाको रुपमा परिचित थियो।
यहाँ प्रत्येक बर्ष श्रावण शुक्ल पूर्णिमाको दिन ठूलो मेला लाग्दछ । उक्त मेलाको दिन चिनको लापटाङ, सेमगिरी लगायत सिन्धुपाल्चोक र दोलखाका भक्तजनहरु देउढुंगा दर्शन गर्न आउने गरेका छन् ।